काठमाडौं । नेपालले हारका साथ एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगिताको सुरुआत गरेको छ ।
बुधबार दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न समूह ‘के’को आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ताजकिस्तानसँग ४–० को पराजय बेहोर्यो । ताजकिस्तानका लागि फरवार्ड अजिजबोएभ मुहम्मादालीले दुई तथा रक्षक रहमात्शोह रमात्जोदा र मिडफिल्डर देलर शारिपोभले समान एक गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता लिएको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थपेको हो ।
सुरुआती दुई गोल मिडफिल्डर आमादोनी कामोलोभको ‘असिस्ट’मा सम्भव भएका हुन् । निर्धारित हाफ सकिन ६ मिनेट बाँकी रहेको अवस्थामा मुहम्मादालीले टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए । राइट साइडबाट कामोलोभको कटब्याकमा नेपालका पाँच खेलाडी बिट भएका थिए । मुहम्मादालीको पहिलो टच पनि उत्तिकै सुन्दर रह्यो । अन्त्यमा मुहम्मादालीको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
करिब साढे चार हजार समर्थकको उपस्थिति रहेको खेलको ५८औं मिनेटमा पनि मुहम्मादालीले कामोलोभको अर्को कटब्याकलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे । अग्लो कदको फाइदा उठाएका मुहम्मादालीलाई राइट ब्याक राम थापाले निगारानीमा राखेका थिए । तर, राम यसमा सफल हुन सकेनन् ।

निर्धारित समयको अन्तिम मिनेटमा मिडफिल्डर रुस्लान खइलोएभको ब्याकपासमा रमात्जोदाले पेनाल्टी बक्सको लाइनबाट सानदार गोल गरे । वैकलिपक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका रमात्जोदाको राइट फुटेड शक्तिशाली प्रहारले पहिलो बारको जाली चुमेको थियो । थप गरिएको इन्जुरी समयमा अर्का वैकल्पिक खेलाडी शारिपोभले अग्रतालाई चार गोलमा पुर्याए । उनको लोअर प्रहारले पनि पहिलो बारको जाली चुमेको थियो ।
यसबाहेक दोस्रो हाफमा ताजकिस्तानी अग्रपङ्क्तिको आक्रमणलाई रोक्न नेपाली रक्षापङ्क्तिले एकपछि अर्को गर्दै विफल पारेका थिए । नेपालले पहिलो हाफमा तीन फ्रिकिक अवसर पाएको थियो । जसमा नेपालले विपक्षी पोस्टमा खतरा बुन्न सकेन ।
फ्लडलाइटमा समस्या उत्पन्न भएपछि निर्धारित समयको अन्त्यतिर खेल केही बेर रोकिएको थियो । जतिबेला नेपाल २ गोलले पछाडि थियो । खेल पुनः सुचारु भएपछि नेपालले आफ्नो नियन्त्रण र लय दुबै गुमाएको थियो । जसको फाइदा ताजकिस्तानका खेलाडीले लिए ।
बुधबार सम्पन्न दिनको पहिलो खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्यो । नेपालले अब शनिबार आफ्नो दोस्रो खेलमा सिरियासँग प्रतिस्पर्धा गर्नेछ । सिरियासँग पराजित भए नेपालको एसियन कप पुग्ने चुनौती समाप्त हुनेछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।