काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट अन्तर्गत घरेलु टोली ताजकिस्तानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान आयुष घलानको अनुपस्थितिमा सिनियर टोलीबाट खेल्दै आएका लेफ्ट ब्याक सुमित श्रेष्ठलाई ‘क्याप्टेन आर्मब्यान्ड’को जिम्मेवारी दिएका छन् ।
तीन वर्षअघि सम्पन्न एएफसी यु-२० एसियन कप छनोट प्रतियोगितामा आयुषले बंगलादेशविरुद्ध अनुशासनहीन कार्य गरेको भन्दै एएफसीले उनीमाथि एक खेलको प्रतिबन्ध लगाएको हो । बहराइनमा सम्पन्न उक्त खेलमा कप्तान आयुष र विपक्षी रक्षक अजिजुल हक एकअर्कासँग लड्न पुगेका थिए । अजिजुललाई अश्लील इशारा देखाएका आयुष रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
गोलपोस्टको जिम्मेवारीमा कृशल मोक्तान रहनेछन् । राइट ब्याकमा यु–१९ टोलीका कप्तान राम थापा छन् भने सेन्टरब्याक पोजिसनमा शंकर थारुले निङ्मा घिसिङलाई साथ दिनेछन् ।
४–३–३ शैलीमा मैदान उत्रिरहेको नेपालका लागि मिडफिल्डमा कृतिश रत्न छुन्जु, दीपेश गुरुङ र सन्तोष खत्री छन् । विंगरद्धय सुजन बलम्पाकी मगर र आरोन थापाले दायाँ र बाँया साइडबाट आक्रमण बुन्नेछन् ।
सेन्ट्रल फरवार्डमा निराजन धामी छन् ।