कार्तिक ५, २०८२ बुधबार | १२:१२:५४
कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा

चेतनारायणको भुटान यात्राः कथाको आगामी प्लट सुखद बनाउने चाहना

साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ अन्तर्गत भुटानविरुद्धको खेलअघि नेपाली टोलीको ट्याक्टिकल सत्र, तस्वीरः अनुप महर्जन/खेलाडी ।

काठमाडौं । शुक्रबार नेपाली राष्ट्रिय महिला यु-१७ टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठका लागि महत्वपूर्ण दिन थियो । उनको नेतृत्वमा टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दै थियो । प्रतियोगितामा उपाधि सम्भावना बलियो पार्न अत्यावश्यक थियो ।

सुरुमा गोल खाएर पनि सोचेकै जस्तो पुनरागमन जनाउँदै नेपालले भुटानमाथि २-१ को जित हासिल गर्यो । श्रेष्ठका लागि यो जित विशेष हुने नै भयो । किनकी श्रेष्ठको नेतृत्वमा  उमेर समूहको साफ च्याम्पियनसिपमा नेपालको पहिलो जित थियो त्यो । सँगै त्यो जितले यही भुटानसँग ६ वर्ष अगाडि बेहोरेको हारको बदला लिने अवसर समेत जुराएको थियो ।

सन् २०१९ मा हल्चोकमा सम्पन्न साफ पुरुष यु-१८ च्याम्पियनसिपमा नेपाली युवा टोलीको जिम्मेवारी श्रेष्ठको काँधमा थियो । मिडफिल्डर जय गुरुङको कप्तानीमा रहेको टोलीमा रन्दीप पौडेल, विशाल सुनार, दर्शन गुरुङ, शिशिर लेखी, अन्जल महर्जन, रोशन रानामगरजस्ता एन्फा एकेडेमीबाट निखारिएका खेलाडीको बाहुल्य थियो ।

साफ यु-१८ च्याम्पियनसिप २०१९ अन्तर्गत भुटानविरुद्ध उत्रिएको नेपालको पहिलो रोजाई, तस्वीर सौजन्यः साफ ।

वर्तमान राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी मनिष डाँगी भर्खर दक्षिण कोरियाबाट फुटबलका लागि भनेर नेपाल आएको समय थियो त्यो । पछि मनिष पनि टोलीसँग जोडिए ।

त्यो प्रतियोगिताको तेस्रो संस्करण थियो । अनि नेपाल दुई पटकको साविक विजेता । घरेलु भूमिमा सम्पन्न पहिलो संस्करणमा बालगोपाल महर्जनको प्रशिक्षणमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर नेपाल च्याम्पियन बनेको थियो । त्यतिबेला महर्जनले विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, दीनेश राजवंशीसहितको एन्फा एकेडेमी ब्याचको नेतृत्व गरेका थिए ।

भुटानमा सम्पन्न दोस्रो संस्करणमा छिरिङ लोप्साङ गुरुङको टोलीले उपाधि चुम्यो । अर्पण कार्की कप्तान रहेको यो टोली पनि रेजिन सुब्बा, एरिक विष्ट, सुमन अर्याल, अनिल महर्जन जस्ता एन्फा एकेडेमीको उत्पादनले भरिएको थियो ।

साफ यु-१८ च्याम्पियनसिप २०१९ अन्तर्गत भुटानविरुद्ध नेपाली मिडफिल्डर नितीन थापा, तस्वीर सौजन्यः साफ ।

भुटानमा प्राप्त सफलतापछि उमेर समूहमा रहँदै आएको नेपालको ‘किङ अफ साउथ एसिया’ छबि झनै सर्वस्वीकार्य हुन थाल्यो ।

तेस्रो संस्करणमा नेपालले फेरि प्रतियोगिताका लागि दक्षिण एसियाली टोलीहरुलाई आतिथ्य दिने मौका पायो । घरेलु मैदान, प्रभावशाली इतिहास, अनि प्रतिभावान कलिला किशोरहरुको जोशको मिश्रणमा नेपाल उपाधिको निर्विकल्प दाबेदार जस्तै थियो । तर, कथाले सोचेजस्तो अन्त्य पाएन ।

पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर मानिने भुटानसँग ३-० ले स्तब्ध हुनु पर्यो । मुसलधारे झरीबीच भएको खेलमा भुटानविरुद्धको त्यो हार नेपाली फुटबल इतिहासकै एक नमिठो नतिजामध्ये एक थियो । हारसँगै नेपाल पहिलो चरणबाटै बाहिरियो । स्वभाविक थियो, भुटानसँगै पराजित भएर बाहिरिएपछि नेपाली टोलीको सर्वत्र आलोचना भयो ।

साफ यु-१८ च्याम्पियनसिप २०१९ को बन्द प्रशिक्षणमा रहँदा तालबाराही मन्दिर, पोखरामा नेपाली टोली, तस्वीर सौजन्यः चेतनारायण श्रेष्ठ ।

करिब ६ वर्षपछि चेतनारायण श्रेष्ठले दोस्रो पटक उमेर समूहको राष्ट्रिय टोली सम्हालने मौका पाए । यसपाली अवसर रह्यो, साफ यु-१७ महिला च्याम्पियनसिप । कलिला किशोरीहरुको जिम्मेवारी लिनुअघि श्रेष्ठले दुई महिनाअघि सहिद स्मारक ‘बी’ डिभिजन लिगमा राजधानीस्थित गोकर्णेश्वरको नयाँबस्ती युवा क्लबको प्रशिक्षण सम्हालेका थिए ।

श्रेष्ठले नयाँबस्तीलाई दोस्रो डिभिजनमा टिकाउन सक्दो कोशिश गरे । तर, सकेनन् । १४ वर्षयता ‘बी’ डिभिजनमा रमाइरहेको नयाँबस्ती अंकतालिकाको पुछारमा रहँदै घटुवा भयो । जसले पक्कै पनि उनलाई थप तनाव दिएको थियो ।

श्रेष्ठको प्रशिक्षण टोलीले खुला छनोटपछि दुई चरणमा खेलाडी छनोट गरेर महिला यु १७ को अन्तिम २३ सदस्यीय टोली तयार पार्यो । तर, यति कम समयको प्रशिक्षण बलियो भारतसँग प्रतिस्पर्धा गर्न पर्याप्त थिएन । पहिलो खेलमा नेपालले ७-० को फराकिलो हार बेहोर्यो । आलोचनाको ओइरो फेरि पनि नलाग्ने कुरै भएन ।

साफ यु-१७ च्याम्पियनसिप २०२५ अन्तर्गत भुटानविरुद्धको खेलमा राष्ट्रिय गान गाउँदै नेपाली टोलीका अफिसियल र खेलाडी, तस्वीरः अनुप महर्जन/खेलाडी ।

खेलाडीलाई फेसबुकका ‘कमेन्ट’ नपढ्न सुझाव दिइरहेका श्रेष्ठ आफू भने नेपाली समर्थकको आक्रोशबाट टाढा रहन सकेनन् । खेलाडीको भन्दा उनको मन धेरै रोएको थियो । तर, उनी खेलाडीका अभिभावक थिए, हुन् । अभिभावकत्व बिर्सेनन् । आफै उदास भएर खराब नतिजाले बिछिप्त खेलाडीलाई निराश छोड्न उनको जिम्मेवारीले दिँदैनथ्यो । आफू जति पीडामा भए पनि उनले आत्मविश्वास देखाइरहे । खेलाडीलाई हौस्याइरहे ।

अर्को खेल भुटानविरुद्ध थियो । साफ फुटबलमा आफ्नो पहिचान बलियो बनाउन खोजिरहेको भुटानविरुद्ध नेपाललाई सजिलो पक्कै थिएन । श्रेष्ठमाथि जित्न नसकेको ‘बोझ’ त थियो नै, उपाधि समीकरणमा टिकिरहने चुनौती पनि थियो ।

शुक्रबार मिडफिल्डर पेमा डेकरको कर्नरमा स्ट्राइकर कुइन्देन सोनामा सोग्यलले हेडमार्फत सहज गोल गर्दा भुटानले नेपालविरुद्ध अग्रता लियो । पहिलो हाफ १-० मा सकियो । श्रेष्ठका लागि दोस्रो हाफको ४५ मिनेट प्रशिक्षण करिअरकै कठिन क्षण रहने वाला थियो ।

साफ यु–१७ च्याम्पियनसिप २०२५ अन्तर्गत भुटानविरुद्धको नेपालका खेलाडी, तस्वीरः अनुप महर्जन/खेलाडी ।

दोस्रो हाफमा उप-कप्तान सहारा लिम्बूले २० मिनेटको अन्तरालमा दुई गोल गर्दै नेपाललाई अग्रता दिलाइन । दुवै गोल पेनाल्टी बक्स बाहिरबाट गरिएका प्रहारमा सम्भव भएको थियो । ‘फाइनल ह्विसल’ बजेपछि श्रेष्ठले राहतको स्वास फेरे । सायद खेलाडीले पनि आफ्ना गुरुको मनको कुरा बुझे कि ?

‘भुटानलाई हराउनु पर्छ भन्ने मनमा थियो । हरायौं, एकदमै खुसी छु,’ थकित मुद्रामा श्रेष्ठले भने, ‘खेलमा हामीलाई एकदमै प्रेसर थियो । मैले ६ वर्ष अगाडि पराजय बेहोरेको थिएँ । यो कुरा मनमा थियो । आज भुटानमै आएर हराउन पाएँ । हामी उपाधिका लागि सक्दो प्रयास गर्नेछौं ।’

सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ, अहिले साग)मा पनि श्रेष्ठ आफ्नो मनको ‘बोझ’सँग लडिरहेका थिए । त्यतिबेला उनी हट्टा–कट्टा खेलाडी थिए । फरवार्ड पोजिसनबाट खेल्थे ।

भारतको दिल्लीमा राष्ट्रिय युवा टोलीका खेलाडी क्रमशः दीपक अमात्य, राजु पुलामी र चेतनारायण श्रेष्ठ, तस्वीर सौजन्यः चेतनारायण श्रेष्ठ ।

काठमाडौंको नक्सालमा जन्मे हुर्केका श्रेष्ठ त्यतिबेला आफ्नो करिअरको शिखरमा थिए । सन् १९८४ मा सम्पन्न साफको पहिलो संस्करणको सफलतापछि साफ खेलकुद फेरि एकपटक काठमाडौं आइपुगेको थियो ।

श्रेष्ठ मनाङ मस्र्याङ्दीबाट व्यावसायिक फुटबल खेलिरहेका थिए । अन्तर्राष्ट्रिय ‘डेब्यु’ पनि गरिसकेका थिए । तर, साफको फुटबल टोलीमा उनलाई बोलाइएन ।

आफ्नो घरभन्दा चार किलोमिटर पर सँगै खेलेका साथीहरु उपेन्द्रमान सिंह, बालगोपाल महर्जनलगायतले घरेलु समर्थकसामू खेलिरहँदा आफू भने बाहिर परेपछि श्रेष्ठले मन सम्हाल्न सक्ने कुरै थिएन ।

‘कोकाकोला इन्भिटेशनल इन्टरनेशनल फुटबल प्रतियोगिता’मा मनाङलाई उपाधि, मनाङ मस्र्याङ्दी क्लब आर्काइभ, तस्वीर सौजन्यः चेतनारायण श्रेष्ठ ।

‘मैले बन्द प्रशिक्षणमा नबोलाएपछि भिम (थापा) गुरुलाई अनुरोध गरेको थिएँ । मैले उमेर समूहमा यु-१६, यु-१९ र सिनियर टोलीमा पनि खेलिसकेको थिएँ । फर्ममा पनि थिएँ,’ श्रेष्ठ २६ वर्ष अगाडि फर्कन्छन्, ‘त्यतिबेला मैले रिस उठेर रंगशाला परिसरमा रहेको एन्फा अफिसमा टेबल ठटाएर हिँडेको थिएँ । पछि अनुशासन तोडेको भनेर बोलाइएन ।’

धनबहादुर बस्नेत, भिम थापा र योगम्बर सुवालको प्रशिक्षणमा टोलीको कप्तानी दीपक अमात्यले गरेका थिए । हरि खड्का, कुमार थापा, वसन्त गौचन, राकेश श्रेष्ठ, बालगोपाल, उपेन्द्रमानलगायतका ठूला नामले भरिएको टोली फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

‘हजारौं समर्थकबीच खेल्ने अवसर गुमाएँ । मेरो पोजिसनमा हरि (खड्का) भाइ थियो । उ राम्रो थियो,’ श्रेष्ठसँग बोल्ने शब्द छैन, ‘अझै पनि रंगशलाका ती साँझहरुले झस्क्याइरहन्छ ।’

सन् १९९२ मा नेपाली राष्ट्रिय यु-१९ टोलीको जर्मन भ्रमण, तस्वीर सौजन्यः चेतनारायण श्रेष्ठ ।

श्रेष्ठको यो दोस्रो भुटान भ्रमण हो । ३३ वर्ष अगाडि उपेन्द्रमानको कप्तानीमा बालगोपाल, प्रकाश वैद्य, राजु पुलामी, हरिओम श्रेष्ठ, डिकेन सुवालसम्मिलित यु-१९ टोलीले भुटानमा जिङ्मे सिङ्मे वाङ्चुक गोल्डकपमा नेपालको प्रतिनिधित्व गरेको थियो । श्रेष्ठ टोलीका महत्वपूर्ण सदस्य थिए । त्यतिबेला नेपाल भुटानको एउटा क्लबसँग फाइनलमा पराजित भएको थियो ।

यु-१९ अघि श्रेष्ठले १९८९ मा काठमाडौंमा सम्पन्न यु-१६ एएफसी एसियन कप छनोट प्रतियोगिता खेलेका थिए । श्रेष्ठले भारतमा सम्पन्न यु-१९ एसियन कप छनोट पनि खेले ।

यु-१८ मा हुँदा श्रेष्ठ, बालगोपालको टोलीले जर्मनमा गएर एक महिनाको प्रशिक्षणमा सहभागिता जनाउने अवसर पाएको थियो । त्यतिबेला सुनील श्रेष्ठ, राजेश मानन्धर, दीपक अमात्य, सूर्यमान श्रेष्ठ, अनिल रुपाखेती, मृगेन्द्र मिश्रलगायत खेलाडी यु-१९ टोलीका सदस्य थिए । कहिले काहिँ यु-१८ र यु-१९ बीच अभ्यास खेलहरु हुन्थे । जसमा प्रायः जसो यु-१८ ले बाजी मार्थ्यो ।

वि.सं २०५५ सालमा नयाँ दिल्लीमा सम्पन्न क्लब च्याम्पियनसिपमा न्युरोड टिम (एनआरटी), तस्वीर सौजन्यः चेतनारायण श्रेष्ठ ।

‘मैत्रीपूर्ण खेलमा हामीले बाजी मार्थ्यौं । जसका कारण बालगोपाल, उपेन्द्ररु चाँडै राष्ट्रिय टोलीमा पर्न सफल भए,’ श्रेष्ठ हाँस्दै सुनाउँछन्, ‘उपेन्द्रले मृगेन्द्रलाई उछिन्दै राष्ट्रिय टोलीको पहिलो रोजाईमै मौका पाउन थाल्यो ।’

श्रेष्ठले भने राष्ट्रिय टोलीका लागि निकै संघर्ष गर्नुपर्यो । सन् १९९८ फिफा विश्वकप एएफसी छनोटमा श्रेष्ठले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए । ओमानमा सम्पन्न प्रतियोगितामा श्रेष्ठले जापानविरुद्ध केही मिनेट खेल्ने मौका पाएका थिए । यो नै श्रेष्ठको अन्तिम अन्तर्राष्ट्रिय खेल रह्यो ।

सन् १९९७ मा भारतमा सम्पन्न गभनर्स गोल्डकपमा नेपालको युवा टोलीले फाइनलमा भाइचुङ भुटिया र देवनारायण चौधरीसम्मिलित इस्ट बंगाललाई २-१ ले हराएको थियो । त्यतिबेला श्रेष्ठले अन्तिम मिनेटमा निर्णायक गोल गरेका थिए । श्रेष्ठका लागि यो उपलब्धि विर्सनै नसक्ने क्षणमध्ये एक हो ।

जनकपुर चुरोट कारखना आर्काइभ, चेतरायण श्रेष्ठ (माथिल्लो रोको चौथो), तस्वीर सौजन्यः चेतनारायण श्रेष्ठ ।

दोस्रो पटक भुटान आइरहँदा श्रेष्ठलाई आफ्नो प्लेइङ करिअर झलझली याद आइरहेको छ । त्यसैले त उनी फुटबलका सरोकारवालासँग हुने प्रत्येक गफमा १९९२ को त्यो प्रसंग छुट्याउँदैनन् । गर्वका साथ भनिहाल्छन्, ‘हामीले त्यतिबेला पनि चाङ्लिमिथाङमा नेपालका लागि खेलेका थियौं । हामी खेल्दा ‘नेचुरल’ घाँसे मैदान थियो । अहिले टर्फमा नानीहरुलाई प्रशिक्षण गराइरहेको छु ।’

अन्नपूर्ण क्लब (आरसिटी)बाट व्यावसायिक करिअर सुरु गरेका श्रेष्ठले मनाङ मर्स्याङ्दी, जनकपुर चुरोट कारखना र न्युरोड टिम (एनआरटी) हुँदै थ्री स्टारको जर्सी लगाए । तर, लिगमा उपाधि जित्ने चाहना भने पूरा गर्न सकेनन् । अन्तिम वर्ष आफ्नै टोलको नक्साल क्लबबाट खेले । यसबीच उनले सन् १९९४ मा बंगलादेशको शीर्ष डिभिजनको लिग पनि खेले । त्यसयता प्रशिक्षण करिअरमा लागेका उनी एएफसी ‘ए’ लाइसेन्सको सर्टिफिकेट पाउने पहिलो ब्याचका सदस्य हुन् । उनले यो उपलब्धि २०१६ मा नेपालमै प्राप्त गरेका थिए ।

साफ यु-१७ महिला च्याम्पियनसिप २०२५ अन्तर्गत भारतसँगको खेलमा राष्ट्रिय गान गाउँदै नेपाली टोलीका अफिसियल र खेलाडी, तस्वीरः अनुप महर्जन/खेलाडी ।

सन् २०१९ मा श्रेष्ठले नेपाली पुरुष युवा टोलीको नेतृत्व गरेको तीन महिनापछि डिसेम्बरमा काठमाडौंले दक्षिण एसियाली राष्ट्रहरुलाई तेस्रो पटक साग खेलकुदमा आतिथ्य गरेको थियो । यु-२३ फुटबल टोलीको नेतृत्व श्रेष्ठका सहकर्मी बालगोपालले नै गरेका थिए । बालगोपालको नेतृत्वमा नेपाल च्याम्पियन भएको थियो, त्यो पनि फाइनलमा भुटानलाई नै हराएर ।

साथी बालगोपालको सफलतामा श्रेष्ठ खुसी छन् । यसले श्रेष्ठलाई थप प्रेरणा दिइरहेको हुन्छ । भन्छन्, ‘साथीको सफलतामा खुसी छु । अचेल त जहाँ गयो, त्यहीँ उपाधि जिताउँछ । बालगोपालको सफलताले पनि मलाई ड्राइभ गरिरहेको हुन्छ ।’

श्रेष्ठका लागि भुटान भ्रमण एउटा कथाको ‘प्लट’ हो । यो प्लटले कस्तो कहानी भन्नेछ, त्यो हेर्न बाँकी नै छ । तयारीका लागि कम समय पाएका श्रेष्ठ साफ च्याम्पियनसिपमा सकारात्मक नतिजा ल्याउन सक्दो कोशिश गरिरहेका छन् । नेपाली फुटबललाई माया गर्ने समर्थकलाई मिठो उपहार दिन चाहन्छन् । आफ्नै दोस्रो भुटान भ्रमणलाई अविश्मरणीय बनाउन चाहन्छन् ।


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain