काठमाडौं । बेल्जियमका प्याट्रिक डे विल्डे नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख् प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासिचव किरण राई र विल्डेले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
विल्डे नेपाली महिला राष्ट्रिय टोली सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुन् । यसअघि अस्ट्रेलियाका ग्यारी फिलिप्सले नेपालको प्रशिक्षण सम्हालेका थिए ।
एन्फा प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुई जनाबाट उनको नाम सिफारिस गरेको हो । एन्फाले गत वैशाखमा राष्ट्रिय महिला टोलीका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुलाएको थियो ।
युइएफए प्रो लाइसेन्स प्राप्त विल्डेले पछिल्लो पटक नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको प्रशिक्षण सम्हालेका थिए ।
यसैगरी उनले सोमालिया र रुवान्डाको राष्ट्रिय टोली, चीनको यु-२३ टोली तथा अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
नेपाल एएफसी एसिया कप छनोटको तयारीमा छ । छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका छन् ।
यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
यस्तै नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ ।