काठमाडौं । अन्तिम-१६ को दोस्रो लेगमा इरानी क्लब एस्तेघलाल एफसीविरुद्ध ३-० को जित निकाल्दै साउदी अरेवियन क्लब अल नासर एएफसी च्याम्पियन्स लिग इलिटको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । सोमबार अल अवाल पार्कमा घरेलु टोली अल नासरलाई जित दिलाउन जोन डुरानले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।
खेलको नवौं मिनेटमा डुरानको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । २७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । प्रतियोगितामा यो उनको सातौं गोल हाे ।
एस्तेघलालका खेलाडीले बक्स भित्र साडियो मानेलाई लडाएपछि अल नसारले पेनाल्टीको अवसर पाएको थियो । मेहरान अहमदीले पहिलो हाफको इन्जुरी समयमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि एस्तेघलाल १० खेलाडीमा सीमित भयो ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा डुरानले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जित दिलाए ।