काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१/८२ अन्तर्गत आफ्नो पहिलो खेलमा भक्तपुरको मध्यपुर युथ एसोसिएसन र काठमाडौं ६, बौद्ध क्षेत्रको टुसाल युवा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा मध्यपुरले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन सकेन ।
पहिलो हाफ सकिन चार मिनेट बाँकी छँदा फरवार्ड सन्तोष गोङ्बाले सेटपीसको फाइदा उठाउँदै हेडमार्फत मध्यपुरलाई अग्रता दिलाएका थिए । सन्तोषले कर्नरको सदुपयोग गर्दै कप्तान सञ्जय राजवहाकको क्रसमा गोल गरेका हुन् ।
खेलको ६६औं मिनेटमा मध्यपुरको अनियन्त्रित रक्षापङ्क्तिको फाइदा उठाउँदै कुनै पनि निगरानीमा नरहेका विनोद नेम्बाङले बराबरी गोल फर्काए ।
दिनको दोस्रो खेलमा असन, काठमाडौंको रानीपोखरी कर्नर टिम (आरसीटी)ले टोखा, २ नम्बर वडाको श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।