काठमाडौं । फ्रिडमले दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार दोहोरो जित दर्ता गरेको छ ।
जावलाखेल मैदानमा फ्रिडम ‘ए’ ले इबु भेट्रानलाई ५-० र फ्रिडम ‘बी’ ले टासी एन्ड फ्रेन्ड्स भेट्रानलाई १-० पराजित गरे ।
यसैगरी सोमबारै सम्पन्न अन्य खेलमा आयोजक कुसुन्ती ‘ए’ ले सबबीसी सिंगापुर भेट्रानलाई १-० तथा आइयुएफसी भेट्रानले केभीसी ३२ लाई ३-० ले हराए ।
प्रतियोगिताको उद्घाटन अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसीले गरे ।
प्रतियोगितामा ३० टिम सहभागी छन् । विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।
एट ‘ए’ साइड प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका चार, ४५ वर्षमाथिका तीन र ५० वर्षमाथिका एक खेलाडी सामेल गर्नु पर्नेछ ।फाइनल पुस २९ गते हुनेछ ।