काठमाडौं । संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मंगलबार मनाङ मर्स्याङदी क्लबविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १२ खेलमा २१ अंक जोडेको संकटा चौथो स्थानमा उक्लिएको छ । पराजित मनाङ समान खेलबाट १९ अंकका साथ छैटौं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन दिवस राई, अनिश थापामगर, सुदीप लामा र कृष्णबहादुर आलेले गोल गरे । मनाङका लागि सागर मगरले गोल फर्काए ।
खेलको तेस्रो मिनेटमै दिवसको गोलमार्फत संकटाले अग्रता लिएको थियो । १२औं मिनेटमा प्रज्वलप्रताप क्षेत्रीले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि संकटा १० खेलाडीमा समेटियो ।
सागर पेनाल्टीमा चुक्दा मनाङले १२औं मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो । १२ मिनेटपछि सागरले नै मनाङलाई बराबरीमा ल्याए ।
अनिशले ५८औं मिनेटमा गोल गर्दै संकटालाई २-१ ले अगाडि बढाए । ६४औं मिनेटमा सुदीपले टोलीका लागि तेस्रो गोल गरे ।
त्यसको पाँच मिनेटपछि कृष्णले गोल गर्दै संकटालाई ४-१ को सहज जित दिलाए ।