काठमाडौं । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्यन म्युनिखले १४ गोल गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले जर्मन क्लब एफसी रोटाच एगर्नलाई १४-१ ले हरायो ।
बायर्नको जितमा म्याथ्यस टेलले ह्याट्रिक गरेका थिए । १९ वर्षीय फ्रेन्च खेलाडीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए । एडिन लिचिना र एरिजोन इब्राहिमोचिकले दुई गोल गरे ।
खेलको २४औं मिनेटसम्म कुनै गोल भएको थिएन । त्यसपछि भने पाँच मिनेटमा पाँच गोल भएपछि खेलमा बायर्न हाबी भएको हो ।
नतिजापछि नवनियुक्त प्रशिक्षक भिसेन्ट कम्पनीले सानदार सुरुआत गरे । उनले अझै सुधारमा खाँचो रहेको प्रतिक्रिया दिएका छन् । ‘युवा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । तर, हामीले धेरै सुधार गर्नुपर्ने छ ।’
बायर्नले प्रि-सिजनमा टोटनहमसँग दुई खेल खेल्नेछ । त्यस्तै, जर्मनकै एफसी डुरेनसँग एक खेल खेल्ने तालिका छ ।
गत सिजन कमजोर प्रदर्शनपछि क्लबले कम्पनीलाई भित्राएको हो । टोली गत सिजन उपाधिविहिन भएको थियो । त्यसैले क्लब यस पटक गुमेको लय फर्काउने योजनामा छ ।