काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा मछिन्द्र फुटबल क्लब ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शुक्रबार जावालखेल युथ क्लबसँग २-२ को बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रका लागि अनिश थिङ र कविर तामाङले तथा जावलाखेलका लागि विवस दर्लामी र अनिश चौधरीले गोल गरे ।
यो नितजासँगै मछिन्द्रले दुई खेलमा चार अंक जोडेको छ । जावलाखेलको समान खेलबाट दुई अंक छ ।
पहिलो खेलमा मछिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गर्दा जावलाखेलले नेपाल एपिएफ क्लबलाई १-१ को बराबरीमा रोकेको थियो ।
खेलको १५औं मिनेटमा अनिशको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ३८औं मिनेटमा कविरले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।
जावलाखेलका विवशले ७५औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा अनिशले गोल गर्दै जावलाखेललाई २-२ को बराबरीमा ल्याएका थिए ।