काठमाडौं । ललित स्मृति यु–१८ लिगमा आज दुई खेल आयोजना हुँदैछन् । दिउसो १ बजे सुरु हुने खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा एपिएफ जावलाखेल युथसँग १–१ को बराबरीमा रोकिएको थियो । सातदोबाटो पहिलो खेलमा खुमलटार एफसीसँग २–० ले पराजित भएको हो ।
यता, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा संकटा क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पुलिस लगातार दोस्रो तथा संकटा पहिलो जित निकाल्ने दाउमा छन् ।
पुलिसले पहिलो खेलमा थ्री स्टारविरुद्ध ७–२ को सानदार जित निकालेको थियो । संकटा भने मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको हो ।
एन्फा पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना भएको प्रतियोगितामा बुधबार चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम एनआरटी विजयी भएका थिए ।
प्रतियोगितामा ८ खेल सम्पन्न हुँदा २० गोल भएका छन् । पुलिसका विक्रम गौतम चार गोलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छन् । विज्ञान खड्का र अमान बहादुर तामाङले समान दुई गोल गरेका छन् ।