काठमाडौं । स्पेनिस ला लिगाको अन्तिम खेलमा सेभियालाई २–१ ले हराउँदै साविक विजेता बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजको सुखद् बिदाइ गरेको छ ।
आइतबार राति सेभियाको मैदानमा बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले गोल गरेका हुन् । सेभियाको लागि युसेफ एन नासरीले गोल गरे ।
लिग सम्पन्न हुँदा बार्सिलोना ३८ खेबलाट ८५ अंकसाथ दोस्रो स्थानमा चित्त बुझायो । पछिल्लो सिजन उपविजेता भएको रियाल मड्रिड समान खेलबाट ९५ अंकसहित च्याम्पियन बन्यो । जिरोना तेस्रो र एट्लेटिको मड्रिडले पनि शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग सुरक्षित गरेका हुन् ।
यसअघि जाभीले गत जनवरीमै क्लब छाड्ने बताएका थिए । खेलाडीसँग सुमधुर सम्बन्ध नभएपछि उनी पूर्व क्लबमा नबस्ने घोषणा नै गरेका थिए । तर, अप्रिलमा क्लब ब्यवस्थापकसँगको सल्लाहपछि पुनः सम्झौता नविकरण गर्ने स्थितिमा पुगे ।
तर, पछिल्लो साता क्लब र प्रशिक्षक दुबैले सम्झौता नविकरण हुन नसक्ने बताएका हुन् । बार्सिलोनाले बायर्न म्युनिखका पूर्व प्रशिक्षक ह्यान्सी फ्लिकलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।