काठमाडौं । खराब लयबाट गुज्रिरहेको जर्मन महारथी बायर्न म्युखिनले ९ दिनको अन्तरमा तीन खेल हारेको छ । आइतबार राति भएको खेलमा बायर्न भिएफएल बोचुम १८४८सँग ३–२ ले पराजित भएको हो ।
यो हारसँगै बायर्नको उपाधि सम्भावना कठिन बनेको छ । २२ खेलबाट ५० अंकसहित बायर्न दोस्रो स्थानमा छ । आठ अंकको अग्रता बनाएको बायन लेभसकुसन ५८ अंकसहित शीर्ष स्थानमा छ ।
भ्रमणकारी टोली बायर्नले खेलमा अग्रता बनाएपछि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।
थोमस टुचेलको बायर्न पछिल्लो ११ पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको थियो । यसपटक टोली ट्रफी विहिन हुने लगभग निश्चित जस्तै बनेको छ । हाल टोली जर्मन सुपर कपबाट आउट भइसकेको छ ।
यसअघि बायन लेभरकुसनसँग ३–० ले पराजित भएको थियाे भने च्याम्पियन्स लिगको पहिलो लेगमा लाजियोसँग १–० ले पराजित भएको छ । सन् २०१५ पछि बायर्नले लगातार तेस्रो हार बेहोरेको हो ।