मकवानपुर । आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरमाथि ४-० को सानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब छैठौं बागमती गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
जनता माविको खेल मैदानमा आइतबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आर्मीलाई जित दिलाउन जिलेस्पीजंग कार्की, रसबहादुर मगर, फत्तेमान घले र कमल थापाले गोल गरे ।
जिलेस्पीले २६औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा रसबाहुरले टोलीको अग्रता दोब्बर बनाए ।
१० मिनेटपछि फत्तेमानले आर्मीका लागि तेस्रो गोल गरे । ७५औं मिनेटमा कमलले गोल गर्दै टोलीलाई ४ ० को सहज जित दिलाए ।
आर्मीले फाइनल प्रवेशका लागि मंगलबार अर्को विभागीय टोली नेपाल एपिएफको सामना गर्नेछ । त्यसअघि पहिलो सेमिफाइनलमा मंगलबार शीर्ष डिभिजनका मछिन्द्र फुटबल क्लब र न्युरोड टिम ( एनआरटी) भिड्नेछन् ।