काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटी र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् ।
सिटीले घरेलु मैदान इत्तिहादमा बराबरी खेलेसँगै तालिकाको शीर्षस्थानको लिभरपुलसँग अंकदूरी घटाउने अवसर चुकायो । सिटी २४ खेलबाट ५३ अंकसहित तेस्रो स्थानमा छ । २५ खेलबाट ५७ अंकको लिभरपुल तथा समान खेलबाट ५५ अंकको आर्सनल दोस्रो स्थानमा छन् । चेल्सी ३५ अंकसहित दशौं स्थानमा छ ।
खेलमा अग्रता भ्रमणकारी टोलीले बनाएको थियो । सिटीकै पूर्व खेलाडी रहिम स्टर्लिङले ४२औं मिनेटमा चेल्सीलाई अग्रता दिलाए । घरेलु मैदानमा पहिलो हाफमै १–० ले पछि परेपछि पेप ग्वार्डिओलाको सिटी दोस्रो हाफ खेलमा फर्किएको थियो ।
खेल सकिन सात मिनेटअघि रोड्रिले गोल गर्दै सिटीको हार टारेका हुन् ।
राति नै भएको अन्य खेलमा टोटनहम उल्भ्ससँग २–१ ले पराजित भएको छ । लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ र आर्सनलले बर्नलीलाई ५–० ले हराए ।