काठमाडौं । स्टार खेलाडीले भरिएको संकटा क्लबमाथि ३-० को सनसनीपूर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी २३औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार पोखरा रंगशालमा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलअन्तर्गत पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा दुई गोल थपेको हो । साबिक विजेता संकटालाई हराउन मिडफिल्डर दीनेश हेन्जनले दुई तथा फरवार्ड जिलेस्पी जंग कार्कीले एक गोल गरे । हारसँगै संकटाको उपाधि रक्षाको लक्ष्य समाप्त भएको छ ।
पहिलो हाफ सकिन केही सकेन्ड्स बाँकी छँदा जिलेस्पीको गोलमा आर्मीले अग्रता लिएको थियो । राइट साइडबाट कप्तान भरत खवासको क्रसमा कुनै पनि निगरानीमा नरहेका जिलेस्पीले सहज हेडेर गोल गरे । त्यसको एक मिनेटअघि लेफ्ट साइडबाट भरत चौधरीको क्रसमा दीनेश हेन्जनको हेडर बाहिरिन पुग्दा आर्मी अग्रता लिन चुकेको थियो ।
दोस्रो हाफको सुरुआती तीन मिनेटमै आर्मीले पेनाल्टीमार्फत दोस्रो गोल गर्यो । दीनेशले हानेको प्रहार क्लियर गर्ने क्रममा विपक्षी रक्षक कुल्दीप कार्कीले ह्याण्ड गरेपछि आर्मीले पेनाल्टी प्राप्त गरेको थियो । जुन अवसरमा फरवार्ड दीनेशले कुनै पनि गल्ती गरेनन् ।
खेलको ५८ औं मिनेटमा दीनेशको प्रहारले थप क्षति हुन नपाउँदै संकटाका रक्षक विशाल बस्नेतले ब्लक गरिदिए । ६४औं मिनेटमा दीनेश व्यक्तिगत दोस्रो गोल गर्न दूर्भाग्यशाली रहे । पेनाल्टी बक्सबाट दीनेशले गरेको शक्तिशाली प्रहार क्रसबारमा ठोक्किन पुग्यो । प्राप्त रिबाउन्ड बललाई जिलेस्पीले पोस्टको दिशा दिए । तर, त्यसलाई गोलकिपर दीप कार्कीले सहजै बचाए ।
दोस्रो हाफको मध्यतिर मिनेटमा जिलेस्पीको लोअर प्रहारले पोस्टको दिशा नलिँदा संकटाले अर्को खतरा टारेको थियो ।
रक्षक भरत वाधक बन्दा संकटाले ७४औं मिनेटमा गोल अन्तर कम गर्ने अवसर गुमायो । लाकेन लिम्बुको उत्कृष्ट थ्रु पासलाई सदुपयोग गरेका अन्जनले गोलकिपर समितलाई बिट त गरे तर, फाइनल टच दिनुअघि नै भरतले बल क्लियर गरिदिए । त्यसको दुई मिनेटमै दीनेशको व्यक्तिगत दोस्रो गोलमा अग्रतालाई ३ गोल पुर्याए । यसपालि दीनेशले लेफ्ट साइडबाट जिलेस्पीले दिएको क्रसलाई सदुपयोग गरेका हुन् । दीनेशको प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा आयुष घलानको प्रहार आर्मी गोलकिपर समितले बचाए । इन्जुरी समयमा अन्जनको प्रहार क्रसबारमा लागेर फर्किँदा संकटाले सान्त्वना गोल गर्न सकेन ।
आर्मीले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबबीचको विजेतासँग खेल्नेछ । भोलि हुने तेस्रो क्वार्टरफाइनल खेलमा जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।