काठमाडौं । जापानले घाइते खेलाडी काओरु मितोमालाई एसियन कपका लागि राष्ट्रिय टोलीमा समावेश गरेपछि इङ्लिस प्रिमियर लिग क्लब ब्राइटनका प्रशिक्षक रोबर्टो डी जेर्बीले असन्तुष्टि जनाएका छन् ।
२६ वर्षीय जापानी विंगर मितोमा ब्राइटनबाट ब्यवसायिक फुटबल खेल्छन् । प्रिमियर लिगअन्तर्गत डिसेम्बर २१ मा क्रिस्टन प्यालेसविरुद्धको खेलका क्रममा मितोमा घाइते भएका थिए ।
मितोमाको गोलीगाँठोमा गम्भीर चोट लागेको छ । मितोमा कम्तिमा पनि ६ साता मैदानबाहिर रहने चिकित्सकहरुले जनाएका छन् । तर जापानले आगामी एसियन कपका लागि सोमबार राति घोषित अन्तिम टोलीमा मितोमालाई पनि समावेश गरेको छ । एसियन कप जनवरी १२ देखि फेब्रुअरी १० सम्म कतारमा हुँदैछ ।
प्रशिक्षक डी जेर्बीले घाइते खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिनु आश्चर्यजनक भएको टिप्पणी गरेका छन् ।
‘चिकित्सकहरुले मितोमा चोटका कारण कम्तीमा ६ साता मैदानबाट बाहिर रहने बताएका छन् । तर, जापानले मितोमालाई एसियन कपका लागि राष्ट्रिय टोलीमा समावेश गरेको छ । मेरा लागि यो आश्चर्यको विषय हो,’ प्रशिक्षक रोबर्टोले भने,‘मितोमाले कुनै पनि हालतमा एसियन कप खेल्न सक्दैनन् । जबरजस्ती मैदान उतार्नु भनेको उनको भविष्यसँग खेलवाड गर्नु हो ।’