काठमाडौं । पिस प्वाइन्ट सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
चावहिल गणेशथान मैदानमा सोमबार भएको फाइनलमा पिस प्वाइन्टले न्यु एरालाई ५-२ ले पराजित गर्यो । पिस प्वाइन्टका राहुलकुमार योञ्जन र विशेष थिङले समान २ तथा रामबहादुर बुढाथोकीले १ गोल गरे । न्यु एराबाट दुवै गोल पेम्बा तामाङले फर्काए ।
लुम्बिनी एकेडेमीले तेश्रो स्थान हासिल गरे । लुम्बिनीले बोर्न स्काइलार्कलाई २-० ले हराएको हो । लुम्बिनीको जितमा दुवै गोल आसिप नेपालीले गरे ।
उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्धारा संयुक्त आयोजित प्रतियोगितामा न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी बने । न्यु एराकै साइन्टिस्ट राई उदीयमान खेलाडी, पिस प्वाइन्टका निराजन देउवा उत्कृष्ट गोलकिपर, महेश राई उत्कृष्ट रक्षक तथा राहुलकुमार योञ्जन उत्कृष्ट स्ट्राइकर चुनिए ।
विजेतालाई प्याब्सनका केद्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, नेफका अध्यक्ष नारायण रोका, सचिव टंककुमार चापागाईंलगायतले पुरस्कृत गरे । पुस ८ गतेदेखि सुरु भएको प्रतियोगितामा ६४ टोली सहभागी थिए ।
२८ खेलाडीलाई ऋतको छात्रवृत्ति
सोही अवसरका ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले उत्कृष्ट २८ खेलाडीलाई ६० हजार रुपैयाँ बराबरको प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरे ।
छात्रवृत्ति पाउनेमा एनआइसीका अनिश जोशी, प्रदेश पाण्डे, गौरवबहादुर खड्का, युङद्रुङ वाङगेल गुरुङ, पशुपति मित्र माविका प्रशान्त श्रेष्ठ, सुवास मग्रान्ती, बोर्न स्काइलार्कका सिजन शेर्पा, आदित्य शाह, मनोज बस्नेत, प्रतीक थापा, पिस प्वाइन्टका अभय घिमिरे, मनीष कार्की, सक्षम बान्तवा राई , शिवहरि विक, न्यु एराका नवीन थापा, अल्सन राई, लुम्बिनीका असिफ नेपाली, रविन बुढाथोकी, अनमोल तामाङ, बृहस्पतिका अग्रिमजंग बस्नेत, गोरक्षजंग सुवेदी, सुदन श्रेष्ठ, फ्युजन एकेडेमीका विराट खड्का , अनिल तामाङ, सांग्रिलाका समिर खड्का, छहारीका निशान तामाङ, अरुण लामा र नोब्सका जीवन बोगटी छन् ।