काठमाडौं । युवा मिडफिल्डर कृतिशरत्न छुन्जुले जारी नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजन गुमाउने लगभग पक्का भएको छ । धनगढी एफसीका प्रमुख खेलाडी कृतिश पूर्ण रुपमा फिट हुन २० देखि २५ दिन लाग्ने मुख्य प्रशिक्षक युगल किशोर राईले बताएका हुन् ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो तेस्रो खेलमा धनगढीले ललितपुर सिटी एफसीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । विपक्षी गोलकिपर जेफेरी मार्सेलले स्तरीय प्रदर्शन गरेपछि खेल अवधिभर एकपछि अर्को आक्रमण बुनेको धनगढीले गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भएको हो । सँगै धनगढीले शीर्ष स्थानमा अंक दूरी बढाउने अवसर पनि गुमायो ।
खेलपछि आयोजित पोस्ट म्याच कन्फरेन्समा बोल्दै राईले टोलीका मिडफिल्डर कृतिशको पछिल्लो अवस्थाका बारेमा बताएका हुन् ।
‘हामी यो जित कृतिशलाई समर्पित गर्न चाहन्थ्यौँ । तर, हामी यसमा चुक्यौं,’ राईले बताए,‘डाक्टरले भने अनुसार कृतिशलाई पूर्ण रुपमा फिट हुन अझै २० देखि २५ दिन लाग्नेछ । हामी सक्दो प्रयास गरिरहेका छौं । तर, मलाई लाग्छ कृतिशले यो सिजन गुमाउनेछन् ।’
वीरगंजविरुद्धको पहिलो खेलमा प्लेयर अफ दि म्याचको अवार्ड जितेका कृतिशले सोही खेलमा घुँडामा चोट बोकेका थिए । कृतिशले सो खेलमा निर्णायक गोलका लागि सुन्दर असिस्ट प्रदान गरेका थिए । वीरगंजलाई २–१ ले हराएको धनगढी त्यसपछि कृतिश विनानै मैदानमा छ । दोस्रो खेलमा बुटवललाई १–० ले हराएको धनगढी शनिबारको बराबरीसँगै ७ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ ।
धनगढीले बिहीबार मात्र बुटवलको सामना गरेको थियो । एक दिनको आरामबावजुद धनगढीले ललितपुरविरुद्ध एकदमै राम्रो फुटबल खेल्न सफल रहेको राई बताउँछन् ।
‘यत्तिको खेल्नु भनेको एकदमै राम्रो हो । खेलाडीहरुले सुधारिएको प्रदर्शन गरेका छन् । सुरुआती हाफ अलिकति गाह्रो भयो । पछि, सबै राम्रै भयो । यसमा मेरो मात्र होइन, सम्पूर्ण धनगढी टोलीकै हात छ ।,’ राईले भने ।
उता ललितपुरका मुख्य प्रशिक्षक इयान एन्द्रियु गिलानले नतिजाप्रति सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।
‘जित्न नसकेकोमा निराश छु । तर, धनगढीले जसरी खेल्यो, हामी हार्न पनि सक्थ्यौं, ’ गिलानले भने, ‘जहिल्यै राम्रो प्रदर्शन हुन्छ भनेर भन्न सकिँदैन । खेलाडीहरुलाई पर्याप्त आराम समय पनि चाहिन्छ । बांकीका ५ खेल पनि हामी यसरी नै खेल्नेछौं । हामीले आज नराम्रो खेलेको होइनौं । विपक्षी टोली हामी भन्दा राम्रो भएको हो । हामीले शीर्ष स्थानको टोलीसँग खेलेका हौं ।’
तीन खेलमा ललितपुरको पाँच अंक छ । पहिलो खेलमा बुटवल लुम्बिनीमाथि २(० को सहज जित हासिल गरेको ललितपुरले दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।