काठमाडौं । मार्की खेलाडी बिकेश कुथुको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा स्पेर्टिङ इलाम एफसीले पहिलो जित हासिल गरेको छ ।
प्रतियोगिताको चौंथो दिन सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दुई पूर्वेली फ्रेन्चाइज क्लबबीचको भिडन्तमा इलामले झापा एफसीलाई १–० ले हराएको हो ।
खेल अवधिभर एकपछि अर्को मौका सृजना गरेको इलामका लागि निर्धारित समय सकिन ३ मिनेट बाँकीछँदा फरवार्ड अमाथ एनडअले निर्णायक गोल गरे ।
जितपछि इलाम तीन अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पहिलो खेलमा दुर्भाग्यपूर्ण गोल खाँदै इलाम साबिक विजेता काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । झापाको भने यो पहिलो खेल हो ।
दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित भएको थियो । पहिलो हाफमा एकपछि अर्को आक्रमण बुनेको इलाम दोस्रो हाफमा पनि विपक्षीमाथि हाबी भयो । यसबीच गोलकिपर बिकेश इलामका लागि महत्वपूर्ण साबित भए । बिकेशले खेल अवधिभर कयौं बचाउ गरे ।
८ औं मिनेटमा इलामले सेटपिस अवसर प्राप्त गर्यो तर अग्रता लिन सकेन । झापाका रक्षक छिरिङ लामाले फरवार्ड अमाथ एनडअलाई ३० यार्ड पर फउल गरेपछि इलामले फ्रिकिक पाएको थियो । एनडअले फ्रिकिप प्रहार गरेका थिए तर, उनको प्रहार बाहिरिएको थियो । त्यसको तीन मिनेटपछि नै झापाका जोर्ज सान्चेजले सहज अवसर खेर फाले । छिरिङको थ्रु बलको सदुपयोग गर्दै करिब मध्यभागबाट एकल रन बनाएका जोर्जले पेनाल्टी बक्सभित्र इलामका गोलकिपर विकेश कुथुलाई बिट गरेपनि गोलपोस्टको दिशा भने दिन सकेनन् । जोर्जको प्रहार गोलमा परिणत भएको भए सायद खेलले अर्कै मोड लिने थियो ।
२१ औं मिनेटमा दीपेशको क्रसमा फरवार्ड फोडे कमाराले गरेको गोललाई रेफ्रिले अफसाइडका करण मान्यत नदिएपछि झापाको खतरा टरेको थियो । त्यसको आठ मिनेटपछि रक्षक इब्राहीम जितेको शक्तिशाली प्रहार बाहिरिँदा झापाले अर्को खतरा टार्यो । प्रहारअघि इब्राहीमले झापाका रक्षक योगेश गुरुङलाई बिट गरेका थिए । यसबीच जोर्जको फितलो प्रहार विकेशले बचाए ।
३८ औं मिनेटमा फोडेको क्रसमा बक्सभित्र कुनैपनि निगरानीमा नरहेका भरत खवासले गरेको प्रहार बाहिरियो ।
पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा झापालाई भाग्यले साथ दिएन । लक्ष्मण रुचालको क्रसमा अन्जन विष्टले गरेको सुन्दर हेडर क्रसबारमा लाग्दै बाहिरिँदा पहिलो हाफ गोलरहितमै टुंगियो ।
दोस्रो हाफको सुरुआती १० मिनेट बित्न नपाउँदै झापाले अग्रता लिने अर्को अवसर गुमायो । सुरज विष्टको सुन्दर क्रसमा बक्सभित्र निगरानीमा नरहेका जोर्जको फितलो हेडर विकेशले बचाए ।
त्यसको एक मिनेटमै झापाका लागि विकेश पुनः बाधक बने । आवास लामिछानेको क्रसमा जोर्जले गरेको वन टच प्रहार बिकेशले सहजै बचाए ।
६९ औं मिनेटमा इलामका तीन अवसर गोलमा परिणत हुन सकेन । आशिष गुरुङको क्रसमा मिडफिल्डर अब्दौल्जे बाले गरेको प्रहार लोआर कर्नरमा लागेर बाहिरियो । रिबाउन्ड बललाई फोडेले पुनः पोस्टको दिशा दिए । तर, पहिलो बारमा गरेको उक्त प्रहार झापाका गोलकिपर स्टेफन चुपिकले बचाए । दोहोरो रिबाउन्ड बललाई नियन्त्रणमा लिँदै फोडेले दीपेश घलेलाई पास निकालिदिए । कुनै पनि निगरानीमा नरहेका दीपेशको वान टच प्रहार स्टेफनले पुनः बचाए ।
निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा भरत खवास विपक्षी रक्षक योगेश गुरुङबाट फाउल भएपछि इलामले पेनाल्टी प्राप्त गर्यो । प्राप्त अवसर अमाथले खेरा फाले । उनको प्र्रहार बाहिरिन पुग्दा झापाले राहत महसुस गरेको थियो । तर, त्यसको तीन मिनेटपछि अमाथले नै खेलको निर्णायक गोल गरे ।
अमाथले रिबाउन्ड बललाई गोल पोस्टको दिशा दिएका हुन् । दोस्रो बारमा गरेको शक्तिशाली प्रहारलाई गोलकिपर स्टेफनले बचाएका थिए । तर, उक्त बल क्लियर हुन नपुग्दै अमाथले पहिलो बारमा गरेको प्रहार गोलमा परिणत भयो ।
निर्णायक गोल गरेका अमाथ म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा भोलि साबिक विजेता काठमाडौं रेजर्स र चितवन एफसीबीच प्रतिस्पर्धा हुनेछ । चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले पराजित भएको थियो । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।