काठमाडौं । लामो समय भयो, नेपाली फुटबलको स्वभाविक क्रेज ओराली लाग्दै गएको । लाग्छ, घरेलु खेलका लागि फुटबलप्रेमीहरुले दशरथ रंगशालाको बाटो विर्सिइसके । रंगशालाबाट टाढिँदै गएका दर्शकलाई फर्काउने चुनौती छ ।
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को रवैया हेर्दा लाग्छ, नेपाली फुटबल इतिहासकै उत्कर्षमा रमाइरहेको छ । वास्तविकता र गर्नुपर्ने निकायको प्रतिक्रियाबीच कुनै तालमेल छैन, नेपाली फुटबलसँग मायापिरती गाँसेकाहरुलाई उदेक लाग्ने गरि ।
दर्शकविना कुनै पनि खेलको महत्व हुँदैन । फुटबलमा त झनै दर्शकविनाको खेल कल्पना गर्न सकिनेभन्दा पनि निरश हुन्छ । तर दर्शकलाई नेपाली फुटबलले रंगशालासम्म तान्न सकिरहेको छैन । अझ भनौं, नेपालमा सही तरिकासँग फुटबल नै भइरहेको छैन ।
नेपाली फुटबलले निरन्तर ओराली यात्रामा पाइला बढाइरहेका बेला कम्तिमा त्यसलाई रोक्ने र दर्शकलाई रंगशाला फर्काउने अभियानका साथ नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ ।
|
नेपाली फुटबलमा नयाँ मानक स्थापना गर्ने उद्देश्य बोके पनि फ्रेन्चाइज लिगको दोस्रो संस्करण सीमित समयको तयारी, फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदसँगको तालमेलमा ढिलाई, राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल तालिकालगायतका कारणले प्रभावित भइरहेको छ ।
पहिलो संस्करण कोभिड १९ महामारीको प्रभाव चरमोत्कर्षमा भएका बेला विना दर्शक गरेको नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले तीन वर्षपछि हुन लागेको दोस्रो संस्करणमा आर्थिक मन्दीको दुश्प्रभाव रहेको बताएको छ ।
इतिहासकै सबभन्दा कठिन भनिएको आर्थिक मन्दीले गाँजिरहेका बेला पर्याप्त स्रोतको अभावमा टिमहरुले आवश्यक तयारी गर्न नपाएको गुनासो गरिरहेका छन् । पूर्वाधार अभावका कारण एउटै दशरथ रंगशालाले दिनहुँ गरेर भए पनि प्रतियोगिताका सबै ४० खेल गराउनुपर्नेछ । अभ्यासका लागि राम्रो मैदान नपाएको गुनासो यो प्रतियोगितामा पनि कायम छ ।
त्यसका बावजुद नेपाली फुटबल आफ्नो अस्तित्वको खोजी गरिरहेका बेला निजी क्षेत्रको आयोजना र सहभागितामा हुन लागेको प्रतियोगिताले आशाका किरणहरु छरेका छन् । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको दिशाहिन कार्यशैलीका कारण पछिल्लो समय ठूलो संख्यामा राष्ट्रिय स्तरका खेलाडीहरु विदेसिनुपर्ने अवस्थामा यो प्रतियोगिताको आयोजनाले मैदानभित्र अर्को उत्साह जगाएको छ ।
सर्वोच्च निकाय र बाँकी सबै सरोकारवालाहरु फुटबलभन्दा पनि आफ्ना स्वार्थकेन्द्रित विवादमा रुमल्लिइरहेका बेला यस्ता समस्याहरु आउनु स्वभाविक हो । तर, एनएसएलको आयोजकलाई यस्ता बाधाहरुले निराश पारेको छैन । बरु नेपाली फुटबल विकासको अभियानमा केही इटा थप्ने उनीहरुको दाबी छ ।
साविक विजेता काठमाडौं र इलामबीचको खेलसँगै आज शुक्रबार साँझबाट दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा यसपाली ९ टोलीको सहभागिता रहनेछ । अघिल्लो संस्करण सात टोलीको सहभागितामा सम्पन्न भएको थियो । तर पहिलो संस्करणको एउटा सहभागी विराटनगर सिटी एफसीले यसपाली नखेल्ने निधो गरिसक्यो । बाँकी ६ टोली साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनीस एफसी यसपाली पनि प्रतियोगितामा आफ्नो चुनौती प्रस्तुत गर्दैछन् । आयोजकले दोस्रो संस्करणका लागि थप गरेका एलाम एफसी, विरगञ्ज युनाइटेड र झापा एफसीको पनि उपाधिमा चुनौती रहनेछ ।
|
एनएसएलका निदेशक श्रीयांश कार्की यसपाली युरोपका शीर्ष लिग खेलिसकेका केही हाई प्रोफाइल खेलाडी देख्न पाइने कारण प्रतियोगिता रोमाञ्चक हुने विश्वासमा छन् । हुन पनि नेपाली फुटबलको धरातलअनुसार निक्कै माथिल्लो स्तरका विदेशी खेलाडीको आगमनले लिगको आकर्षण थप्ने नै छ ।
युरोपेली फुटबल हेर्ने बानी परेका नेपाली समर्थकलाई रंगशाला धाउनका लागि त्यो एउटा जायज कारण बन्न सक्छ । यसका साथै यसपाली एनएसएललाई फुटबलसँगै संगीत र मनोरञ्जनको कम्बोका रुपमा प्रस्तुत गर्ने आयोजकको तयारीले पनि प्रतियोगितामा रोमाञ्च थप्न सक्छ ।
नेपाली फुटबलप्रति उदासिन भइसकेका दर्शकको चासो फर्काउन सक्छ । टाढिँदै गएका व्यावसायिक प्रतिष्ठानको ध्यान फेरि तान्न सक्छ । आयोजकले भनेजस्तै नेपाली राष्ट्रिय टोलीको वरियतामा सुधार आउने खालको योगदान गर्न सक्छ । नेपाली फुटबलबाट निराश भएर पलायनको बाटो रोजिरहेका खेलाडीलाई यहीँ बस्न उत्प्रेरित गर्न सक्छ ।
कम्तिमा शीर्ष स्तरमा गतिविधिसुन्य अवस्थामा पुगेको घरेलु फुटबललाई चलायमान बनाउन सक्छ । अनि मैदानभित्र नेपाली फुटबल जीवित छ भन्ने सन्देश चाही पक्कै दिन सक्छ ।