काठमाडौं । फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डी मेचीका मुख्य प्रशिक्षक मेघराज केसीले व्यासायिक भएपछि एउटै क्लबमा अड्केर बस्न नहुने बताएका छन् ।
नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करण शुक्रबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । बुधबार प्रतियोगिताअघि आयोजकले पत्रकार सम्मेलनमा गरेको थियो ।
केसीले पहिलो संस्करण एफसी चितवन सम्हालेका थिए । यसपाली उनले इलामको जिम्मेवारी लिएका हुन् । यही सेरोफेरोमा केसीले क्लब हेरफेरको प्रश्न आउँदा केसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘व्यावसायिक प्रशिक्षक र खेलाडी भएपछि एउटै क्लबमा बस्नुपर्ने भन्न हुँदैन । जहाँ राम्रो हुन्छ त्यहाँ जाने हो । एनएसएल दोस्रो पटक हुँदैछौं । यसप्रकारको फुटबलमा हामी आफै सिक्दैछौं । सिक्ने कुरामा जुन क्लब भए पनि फरक पर्दैन,’ केसीले भने ।
इलाम तीन हप्तायता देखि प्रशिक्षणमा व्यस्त छ । बीचमा चाडवाड आएका कारणले प्रशिक्षणमा रुकावट आएपनि खेलाडीको तालमेलमा कुनै समस्या नरहेको केसीले बताए । यसबीच केसीले नेपाली खेलाडी र विदेशी खेलाडीको व्यावसायिक भिन्नताका बारेमा पनि बोले ।
‘अहिले आर्थिक मन्दीले गर्दा र बीचमा चाडवाडले गर्दा हामीले राम्ररी प्रशिक्षण गर्न पाएनौं । आम्दानी कम र खर्च बढी भएका कारणले गर्दा प्रशिक्षण छोटो भएको हुन सक्छ । तर, व्यावसायिक खेलाडी छन् भने तालमेल मिलाउन दुई हप्ता पनि काफी हुन्छ । त्यसका लागि खेलाडीहरुले फिटनेश कायम राख्नु पर्छ,’ केसी बोले, ‘विदेशी खेलाडीहरु चाडवाड भन्दैनन्, एकदमै व्यावसायिक छन् । जुन, नेपाली खेलाडीमा त्यति छैन ।’
विकेश कुथु मार्की खेलाडी रहेको इलामले उपाधि जित्ने लक्ष्यका साथ सेनेगलका चार तथा गिनीका एक खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ ।
यी हुन् इलामले अनुबन्ध गरेका पाँच विदेशी खेलाडीः
१. फोडे कमारा-रक्षक, गिनी
२. एमेथ एन्डेउ-फरवार्ड, सेनेगल
३. अब्डुलाए बा-रक्षक, सेनेगल
४. इब्राहिमा जिते-रक्षक, सेनेगल
५. बाडु एन्डाय-मिडफिल्डर, सेनेगल
इलामले पहिलो खेलमा शुक्रबार साविक विजेता काठमाडौं रेजर्ससँग खेल्नेछ । खेल साँझ ६ बजे सुरु हुनेछ ।
इलामको टोलीः
विकेश कुथु (मार्की), विराज महर्जन, आशिष गुरुङ, नवीन लामा, सन्तोष खत्री, आशिष चापागाईँ, विमल पाण्डे, सौरभ लिम्बु, भरत खवास, जितेन्द्र कार्की, समिर श्रेष्ठ, आशिष राई, सुरोज बस्नेत, दीपेश घले, फोडे कमारा, एमेथ एन्डेउ, अब्डुलाए बा, इब्राहिमा जिते, बाडु एन्डाय