काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणको विजेता टोलीले कम्तिमा पनि रु.७० लाख र बढिमा १ करोड पाउने भएका छन् ।
एनएसएलको दोस्रो संस्करण मंसिर ८ गते बिहीबारबाट सुरु हुँदैछ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा लिग निर्देशक श्रेयान्स कार्कीले विजेता टोलीले पाउने पुरस्कार राशीका बारेमा बताएका हुन् ।
‘हामीले पुरस्कार राशीका बारेमा आधिकारिक घोषणा गरेका छैनौँ । तर, विजेता टोलीले पाउने पुरस्कार कम्तिमा पनि ७० लाख हुनेछ,’ कार्कीले भने,‘हामीलाई अहिले तपाईँहरुको साथको आवश्यकता छ । यदि साथ र सहयोगले प्रतियोगिता अगाडि बढेको खण्डमा हामी पुरस्कार राशीलाई १ करोड सम्म पुर्याउँछौं ।’
साढे दुई वर्ष अगाडि कोरोना महामारीबीच भएको पहिलो संस्करणको च्याम्पियन टोलीले ३५ लाख प्राप्त गरेको थियो । आयोजकले यसपाली पुरस्कार राशीलाई दुई गुणा बढाएको हो । धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौं रेजर्सले एनएसएल पहिलो संस्करणको उपाधि जितेको थियो । उपविजेता धनगढीले १५ लाख प्राप्त गरेको थियो । यसपाली उपविजेताले कति पाउने भन्ने बारेमा भने जानकारी गराइएन ।
आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
व्यावसायिक समर्थनलाई जोड दिन आयोजकले रंगशालामा एलईडी पेरिमिटर बोर्ड जडान गरिसकेको छ । आयोजकले यसअघि नै टिकट मूल्यको निर्धारण गरेको थियो । भिआईपी प्यारापेटतर्फ रु.५०० र सामान्य प्यारापेटतर्फ रु.२०० टिकट मूल्य हुनेछ ।
टिकट मूल्य महंगो नरहेकाले दर्शकलाई रंगशालामा खेल हेर्न आउन निर्देशक कार्कीले आग्रह गरे । ‘फुटबल प्रेमी दर्शक आउनेमा आशावादी छौं । नेपाली फुटबलमा केही परिवर्तन ल्याउन खोजेका छौं । आयोजकको तर्फबाट दिनुपर्ने सुविधाहरु हामी दिनेछौं, तपाईँहरु आउनुहोस् र हामीलाई साथ दिनुहोस्, ’ कार्कीले भने ।
प्रतियोगिताको इन्टरटेनमेन्ट पार्टनर लर्डस अफ ड्रिन्क्स(एलओडी) रहेको छ भने मेडिकल पार्टनर नर्भिक अस्पताल हुनेछ । आयोजकले टेलिभिजन र ब्रोडकास्टिङ राईट्स हिमालयन टिभी एचडीलाई दिएको छ । पौष १४ सम्म चल्ने प्रतियोगितामा कुल ४० खेल हुनेछन् । आयोजकले नेपाली फुटबलमा पहिलो पटक चियर लिडरको पनि व्यवस्था गरेको छ ।
विज्ञप्तिमा जानकारी गराए अनुसार इङ्लिस क्लब चेल्सी तथा आइभोरी कोस्टाका पूर्व फरवार्ड डिडियर ड्रोग्बाले प्रतियोगिताका दौरान नेपाल आउनेछन् । प्रतियोगिता चलिरहेकै बेला आयोजकले अरु नाम कहलिएका विश्व फुटबल स्टारहरुलाई पनि ल्याउने प्रयास गर्नेछ ।
अन्त्यमा एनएसएलका अध्यक्ष अश्रेयता कार्कीले समर्थकलाई फुटबलका माध्यमबाट उत्साहजनक अनुभव दिन तयार रहेको बताइन् । ‘पहिलो संस्करणमा कोभिडका कारण दर्शकलाई स्वागत गर्न पाएनौं । यो पाली हामी तयार छौं दर्शकलाई नेपाली फुटबलमै पहिलो पटक भिन्न उत्साहजनक अनुभव दिन ।’
प्रतियोगिताको उद्घाटन खेलमा यही शुक्रबार साविक विजेता काठमाडौंले नयाँ टोली स्पोर्टिङ इलाम दि मेचीसँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन कार्यक्रममा युवा गायकद्धय सुशान्त केसी र वाङ्देन शेर्पा त्यसैगरी टिकटकर ट्वीनी गल्र्सले दर्शकलाई मनोरञ्जन दिनेछन् । उक्त कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुनेछ ।