काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको सातौं चरणको खेलमा बार्सिलोना मालोर्काविरुद्ध २–२ गोलको बराबरीमा रोकिएको छ ।
१९ हजार ९ सय ३८ समर्थकमाझ घरेलु टोलीले शीर्षस्थानको बार्सिलोनासँग अंक खोसेको हो । यो बराबरीपछि बार्सिलोनाले शीर्षस्थानमा अंकदूरी बढाउने अवसर गुमायो ।
यद्यपि टोली सात खेलबाट १७ अंकसहित शीर्षस्थानमा छ । ६ खेल खेलेका जिरोना, रियाल मड्रिडको क्रमशः १६ र १५ अंक रह्यो ।
बार्सिलोनाको लागि राफिन्हा र फर्मिन लोपेजले गोल गर्दा घरेलु टोलीलाई भेदात मुरिकी र अब्दोन प्राट्सले गोल गरेका थिए । बार्सिलोना दुई पटक पछि परेकोस्थितिमा पुनरागमन गर्न सफल भएको छ ।
खेलको आठौं मिनेटमा मुरिकीको गोलमा मालोर्काले अग्रता बनाएको थियो । ४१औं मिनेटमा राफिन्हाले बराबरी गोल गरे । पुनः पहिलो हाफको इन्जुरी समयमा प्राट्सले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । ७५औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनाको हार टारेका हुन् ।