काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सात गोल भएको खेलमा बायर्न म्यनिखले म्यानचेष्टर युनाइटेडलाई ४–३ ले पराजित गरेको छ । जर्मन क्लब बायर्नको घरेलु मैदान एलिएन्ज रंगशालामा इङ्लिस क्लब युनाइटेडले खेलमा फर्कने प्रयास गरेपनि असफल भएको थियो ।
जितसँगै समूह ‘ए’ मा बायर्नको तीन अंक छ । युनाइटेडको कुनै अंक छैन । यसगरी समूहमा बराबरी खेलेका कोबेनहम र गालातासारेको समान एक अंक रहेको छ ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लेरियो साने, सर्ज जिनाब्री, ह्यारी केन र म्याथिस टेलले समान एक गोल गरेका थिए । युनाइटेडको लागि कासेमेरोले दुई गोल गर्दा रासमुस होजलुन्डले एक गोल गरेका हुन् ।
पहिलो हाफमा साने र जिनाब्रीले गोल गर्दा बायर्न २–० को अग्रता बनाएको थियो । ४९औं मिनेटमा रासमुसले गोल गर्दा युनाटेडले अग्रता २–१ मा झार्यो । पाएको पेनाल्टी सदुपयोग गर्दै केनले बायर्नलाई ३–१ को अग्रता दिलाएका थिए । केन यसैसिजन इङ्लिस क्लब टोटनहमबाट बायर्न आएका हुन् ।
८८औं मिनेटमा कासेमेरोले गोल गर्दा खेल ३–२ मा पुगेको थियो । इन्जुरी समयमा टेलले पुनः बायर्नलाई गोल गरे । कासेमेरोले इन्जुरी छैटौं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
यस खेलपछि दुबै टोली घरेलु लिगमा फर्कनेछन् ।