काठमाडौं । चेल्सी वर्ल्ड स्कुल एनएमबी-कपअन अन्तर स्कुल यू-१४ फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बुढानिलकण्ठ नगरपालिका-१० कपनस्थित कपअन स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको फाइनलमा चेल्सीले मनकामना सेकेन्डरी स्कुललाई १–० ले पराजित गरेको हो ।
स्ट्राइकर आदित्य शाहले गरेको एक मात्र गोल चेल्सीलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।
तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा रिब्स ‘ए’ (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले ब्रम्हकुञ्जलाई १-० ले परािजत गर्यो ।
सेमिफाइनलमा चेल्सीले ब्रम्हकुञ्जलाई २-१ र मनकामनाले रिब्सलाई ४-० ले पराजित गरेको थियो । यसैगरी क्वार्टरफाइनलमा चेल्सीले जोसेफ हाईस्कुललाई २-०, मनकामनाले वेदव्यासलाई ३-०, रिब्सले लिभिङ वर्डलाई २-१ र ब्रम्हकुञ्जले माउन्ट ग्लोरीलाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए ।
संघीय सांसद एवं पूर्वमन्त्री गगनकुमार थापा, एनएमबी बैंकका सिइओ (प्रमुख कार्यकारी अधिकृत) सुनिल केसी, डेपुटी सिइओ सुदेश उपाध्याय, भायनेटका चेयरमेन विनय बोहरा, गैरआवासीय नेपाल संघ (एनआरएनए) का सिइओ राजेन्द्र राउत, आयोजक कपअन स्पोर्टस सेन्टरका सिइओ एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, एन्फन कार्यसमिति सदस्यद्वय मनिष जोशी, रविन्द्र चन्द, प्रवक्ता सुरेश शाह, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन, गोलकिपर एवं मछिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठले ट्रफी, मेडल, प्रमाणपत्र, जर्सी सेट लगायत पुरस्कार वितरण गरेका थिए ।
चेल्सीका आदित्य शाह प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी घोषित भए । चेल्सीकै आयुष यादव उत्कृष्ट गोलकिपर र मनकामनाका अनिष दंगाल उच्च गोलकर्ता चुनिए । हाइली क्रिएटिभ स्कुलले ‘फेयर प्ले अवार्ड प्राप्त गर्यो । तीन दिने प्रतियोगितामा २९ स्कुलका ३० टोलीले सहभागिता जनाएका थिए ।