काठमाडौं । अखिल नेपाल फुटबल संघले सुनिल श्रेष्ठलाई यू-१९ राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फाले सोमबार घरेलु मैदानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्याम्पियनसिपका लागि श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
श्रेष्ठले पछिल्लो पटक गएको जेठमा सम्पन्न सहिद स्मारक‘ए’ डिभिजन लिगमा जावालाखेल युथ क्लबको प्रशिक्षण सम्हालेका थिए ।
नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । साफले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल सेप्टेम्बर २१ मा साँझ ५ः३० बजे सुरु हुनेछ ।
यसैगरी समूह चरणको अन्तिम खेलमा नेपालले सेप्टेम्बर २५ मा माल्दिभ्सको सामना गर्नेछ ।
आगामी सेप्टेम्बर २१ देखि ३० सम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा आयोजक नेपालसहित ६ टोलीको सहभागीता रहनेछ ।
समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र पाकिस्तान छन् । यसैगरी समुह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । फिफा प्रतिबन्धमा रहेको श्रीलंका भने सहभागी हुन पाउने छैन ।
प्रतियोगिताको पाँचौ संस्करण आईपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । यसअघि यो प्रतियोगिता सन् २०१७ र २०१९ मा यू-१८, २०१५ मा यू-१९ र २०२२ मा यु-२० फर्म्याटमा आयोजना गरिएको थियो ।
नेपालले सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो । पछिल्ला दुई संस्करण २०१९ र २०२२ भने भारत च्याम्पियन बनेको थियो। गत संस्करणमा साविक विजेता भारतले बंगलादेशलाई अतिरिक्त समयमा हराउँदै उपाधि रक्षा गरेको थियो ।