काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार सम्पन्न नवौं चरणको खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबमाथि ६-० को फराकिलो जित निकालेको छ ।
यस जितसँगै नौ खेलमा दुई जित, दुई बराबरी र पाँच हारसहित आठ अंक जोडेको फ्रेन्ड्सले १२ औं स्थानमा उक्लिँदै रेलिगेसन क्षेत्र पनि छाडेको छ । पराजय ब्यहोरेको हिमालयन समान खेलबाट दुई जित, तीन बराबरी र चार हारसहित नौ अंकका साथ ११ औं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फ्रेन्ड्सलाई जित दिलाउन रफिक अमिनुले दुई तथा अखोरबिक उक्टामोभ, अमित तामाङ, उत्तम राई र टोरिक जेब्रिनले समान एक गोल गरे ।
खेलको तेस्रो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । उनले लक्ष्यम रुचालको पासलाई सदुपयोग गरेका हुन् ।
३२ औं मिनेटमा उक्टामोभले टोलीको अग्रता दोब्बर बनाए । उक्टामोभले डोना थापाको फ्रिकिकमा कप्तान प्रकाश बुढाथोकीले उलब्ध गराएको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
३८ औं मिनेटमा अमिनुले ब्यक्तिगत दोस्रो तथा टोलीका लासिग तेस्रो गोल गरे । अमिनुले सन्तोष खत्रीको पासलाई सदुपयोग गरेका थिए ।
५२ औं मिनेटमा अमित पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरे । हिमालयनका रक्षक सन्जित राईले टोरिक जेब्रिनलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि हिमालयनले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
७२ औं मिनेटमा जेब्रिनको पासलाई गोलमा परिणत गर्दै उत्तमले फ्रेन्ड्सलाई ५-० ले अगाडी बढाए । इन्जुरी समयमा जेब्रिनले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई ६-० को फराकिलो जित दिलाए ।