अर्जेन्टिना

अर्जेन्टिनाको जितमा मेसीको गोल

काठमाडौं । कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले पानामालाई २–० ले हराएको छ । घरेलु मैदानमा अर्जेन्टिनाको जितमा थिअगो अलमाडा र मेसीले समान एक गोल गरेका हुन् ।

शुक्रबार बिहान फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । फिफा वरियतामा ६१औं स्थानमा रहेको पानामाविरुद्ध दोस्रो स्थानको अर्जेन्टिनाले गोल गर्न दोस्रो हाफ कुर्नु परेको थियो ।

यद्यपि कतार फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनाले खेलमा पकड बनाएको थियो । खेलको ७८औं मिनेटमा थिअगोले पहिलो गोल गरे । मेसीले प्रहार गरेको फ्रिकिक पोलमा लागेर रिबाउन्ड आउँदा थिअगोले डेब्यु गोल गरे । अर्जेन्टिनाका लागि उनले पहिलो खेल खेलका हुन् । 

खेल सकिन एक मिनेटअघि मेसीले अग्रता दोब्बर बनाए । मेसीले फ्रिकिकमै गोल गरे । मेसीको प्रहार पानामाका गोलकिपर जस गुइराले बचाउन सकेनन् ।

मेसीसम्मिलित अर्जेन्टिनाले सन् २०२२ को फिफा विश्वकप उपाधि जितेको थियो । फाइलनमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक ट्रफी उचालेको हो ।