तिलोत्तमा गोल्ड कप

मनाङ फाइनलमा

काठमाडौं । फेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै मनाङ मर्स्याङदी क्लब २२ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटबल एन्फा टेक्निकल सेन्टर देविनगरमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलको निर्धारित समयमा दुवै टोलीबाट समान दुई गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा मनाङका जियानाथ शेख, अजित गुरुङ, बिसन गुरुङ, र आशिष गुरुङले गोल गरे । फ्रेन्ड्सका प्रेम भण्डारी, टोरिक र उत्तम राईले गोल गर्दा कप्तान डोना थापा र रुपेश केसीले भने चुके ।

त्यसअघि फ्रेन्ड्सका लागि एमिन्यु र उत्तम राईले गोल गर्दा मनाङका लागि कप्तान आशिष गुरुङ र प्रशन्न श्रेष्ठले गोल गरे ।

खेलो सातौं मिनेटमा एमिन्युको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो । २६ औं मिनेटमा उत्तमले टोलीको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै प्रशन्नले खेललाई २-२ को बराबरीमा ल्याएका थिए ।

मनाङले उपाधिका लागि शनिबार सुदूरपश्चिम-११ स्पोर्टस क्लबको सामना गर्नेछ । सुदूरपश्चिम थ्री स्टारलाई १-० ले पराजित गर्दै फाइनल पुगेको हो ।

दुवै टोली पहिलो पटक तिलोत्तमा गोल्ड कपको फाइनलमा पुगेका हुन् ।