एएफसी यु–२० महिला एसियन कप २०२४ छनोट

एएफसी महिला यु-२० छनोटः नेपाल समूह ‘बी’मा

फाइल फोटो

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप २०२४ छनोट प्रतियोगिताको दोस्रो चरणमा नेपाल समूह ‘बी’मा परेको छ ।

जुन ३ देखि ११ सम्म हुने दोस्रो चरणमा नेपाल रहेको समूहमा चीन, म्यानमार र चाइनिज टाइपेइ छन् ।

त्यस्तै समूह ‘ए’मा अस्ट्रेलिया, भियतनाम, इरान र लेबनानले एक अर्कासँग खेल्नेछन् ।

हरेक समूहको शीर्ष दुई टोलीले अर्को वर्ष उज्वेकिस्तानमा हुने एसियन कपमा स्थान बनाउनेछन् ।

पहिलो चरणमा नेपालले शतप्रतिशत जित निकालेको थियो ।आफ्नो समूहको शीर्ष स्थानमा रहँदै नेपाल दोस्रो चरण प्रवेश गरेको हो । 

उज्वेकिस्तानमा नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइल्यान्डमाथि समान ६-० को जित निकालेको थियो । युएईले नाम फिर्ता लिएपछि समूह ‘बी’मा नेपाल, प्यालेस्टाइन र नर्दन आइल्यान्डले मात्र प्रतिस्पर्धा गरेका थिए ।

आयोजक उज्वेकिस्तान र चार वर्ष अगाडी भएको पछिल्लो संस्करणको शीर्ष तीन टोली जापान, उत्तर कोरिया र दक्षिण कोरियाले यसअघि नै प्रतियोगितामा स्थान बनाइसकेका छन् । यी तीन राष्ट्र छनोट खेल नखेली सोझै प्रतियोगिताका लागि छनोट भएका हुन् ।

प्रतियोगिता २०२४ को मार्च महिनामा हुनेछ ।