काउन्टर अट्याक

एन्फामा सुशासनको आठ महिनाः पछिल्लो सिकार उपाध्यक्ष नै

विराटजंग शाही । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी । पूर्व प्रशिक्षक । राष्ट्रिय टोलीका व्यवस्थापक । अखिल नेपाल फुटबल संघ (एन्फा)मा लामो समय कोषाध्यक्षका रूपमा काम गरेका अनुभवी पदाधिकारी । हालका उपाध्यक्ष ।

शाहीको औपचारिक परिचय यत्ति हो । यसबाहेक विराटजंग शाही भनेपछि नछुट्ने कुरा उनको विशेषता हो । नेपाली फुटबल आन्तरिक किचलो र शक्तिसंघर्षको स्थायी कुरुक्षेत्रको रूपमा स्थापित भइसकेको छ । एन्फा निरन्तर आपसी शक्तिसंघर्ष र फोहोरी राजनीतिको चपेटामा पर्दा नेपाली फुटबलका सबै सरोकारवालाहरू विभिन्न कालखण्डमा फरक समूह र कित्तामा उभिएको इतिहास छ ।

शाही पनि नेपाली फुटबल राजनीतिको प्रत्येक मोडमा कुनै न कुनै समूहमा देखिन्छन् । तर, नेपाली फुटबल राजनीतिका धेरै खेलाडीहरू जस्तो शाहीमा दोधारे स्वभाव कहिल्यै देखिएको छैन । उनी जहिले पनि प्रस्ट रूपमा एउटा समूहमा दरिलो भएर उभिँदै आएका छन् । कुनै एउटा समूहमा रहे पनि सबैसँग उत्तिकै सुमधुर सम्बन्ध राख्न सक्नु उनको विशेषता हो । यही कारण चुनावी प्रतिस्पर्धामा उत्रँदासमेत आफ्नै प्रतिद्वन्द्वीसँग पनि उनको उठबस आत्मीय हुने गर्छ ।

उनी निकै ठट्टालु स्वभावका छन् । औपचारिक समारोहमा चाहिँ उत्तिकै लजालु देखिन्छन् । अनौपचारिक कुराकानीमा मज्जाले खुल्छन् । ठट्यौली पारामा । औपचारिक समारोहमा कहिलेकाहीं बाध्यतापूर्वक बोल्नुपर्ने अवस्था आउँछ । तर, उनी त्यस्तो बेला एउटै वाक्यमा आफ्नो भनाइ टुंग्याउँछन् । एन्फाका औपचारिक कार्यक्रममा पत्रकारले फुलबुट्टा गाँस्दै सोधेका लामा प्रश्नमा उनको प्रायः जवाफ हुने गर्छ, ‘अँ त्यो हो ।’ वा ‘होइन, कहाँ हुनु नि ।’

रुवान्डा जानका लागि परिवारसँग बिदा भएर टीकाटालो गरी सोमबार फिफाले पठाएको निमन्त्रणा र हवाई टिकट साथमै लिएर त्रिभुवन विमानस्थल पुगेका एन्फा उपाध्यक्ष विराटजंग शाही आफ्नै नेतृत्वका बदनियतका कारण विमानस्थलबाटै फर्कनुपर्यो । किन ?

कसैलाई भनी नबिझाउने शाहीले बोलेरै कसैको मन दुखाएको सुन्न पाइँदैन । व्यवहारकै कारण पनि उनले कसैको केही बिगारेका छैनन् । बरू फुटबलमा चार दशक लामो साधना गर्नेक्रममा उनले धेरैलाई सहयोग नै गरेका होलान् ।

यही कारण हो, नेपाली फुटबलमा शाही सबैको प्रियपात्र । सबैको साझा ‘विराट दाइ’ बनेको ।

औपचारिक मञ्चहरूमा खुल्नै नचाहने ‘विराट दाइ’ सोमबार सामाजिक सन्जाल फेसबुकको भित्तामा निकै गम्भीर भएर पोखिए । आफैंले एन्फामा अध्यक्ष बनाएका पंकजविक्रम नेम्वाङले नराम्ररी मन दुखाएपछि शाही भावुक भए । पश्चातापले मन भतभती पोल्यो अनि वर्षौंदेखि मनभित्र थुनिएका भावनाहरू एकाएक फेसबुक स्टाटसमा प्रकट भए । सधैं ठट्टा गरिरहने विराट दाइ एकाएक गम्भीर भएर प्रस्तुत भए । 
.....
खासमा एन्फा उपाध्यक्षको हैसियतमा रुवान्डामा हुने फिफाको साधारणसभामा भाग लिन शाही अध्यक्ष नेम्वाङ र महासचिव किरण राईसँगै सोमबार त्यसतर्फ जानुपर्ने थियो । त्यसैका लागि उनी परिवारसँग बिदा भएर टीकाटालो गरी सोमबार फिफाले पठाएको निमन्त्रणा र हवाई टिकट साथमै लिएर त्रिभुवन विमानस्थल पुगेका थिए ।

तर, विमानस्थलबाट अध्यागमनसम्म पनि उनको यात्रा लम्बिएन । एन्फा नेतृत्वले शाहीको नाम हटाएर उनको ठाउँमा मणिराज विष्टको नाम समावेश गरिसकेको रहेछ । जीवनभर फुटबल साधनामा तल्लीन शाही आफैंले अध्यक्षको कुर्सीमा विराजमान गराएका व्यक्तिबाट अपमानित भएर घर फर्किन बाध्य भए । ‘कम्तीमा नाम हटाइएको खबरसम्म गरेको भए पनि घरबाट बिदाइ भएर गइसकेपछि फर्किनु त पर्दैनथ्यो । साह्रै पापी रहेछन्,’ यस्तै सोच्यो उनको मनले ।

त्यसपछि फुट्यो उनको धैर्यको बाँध र फेसबुकमा लामो स्टाटस लेखे । जसमा राष्ट्रिय खेलाडीहरू, प्रशिक्षकहरू, एन्फाका पदाधिकारी तथा नेपाली फुटबलका महत्त्वपूर्ण सरोकारवालाहरूले पनि ऐक्यबद्धता जनाउँदै सेयर तथा कमेन्टको वर्षा गरेका छन् ।

आफैंले एन्फामा अध्यक्ष बनाएका पंकजविक्रम नेम्वाङले नराम्ररी मन दुखाएपछि उपाध्यक्ष विराटजंग शाही भावुक भए । पश्चातापले मन भतभती पोल्यो अनि वर्षौंदेखि मनभित्र थुनिएका भावनाहरू एकाएक फेसबुक स्टाटसमा प्रकट भए ।

शाहीले स्टाटसमा उल्लेख गरेझै यो घटना दुई साताअघि भएको एन्फा कार्यसमिति बैठकको उपज भएको बुझ्न कठिन छैन । बैठकमा शाही र अन्य दुई उपाध्यक्ष दीर्घबहादुर केसी र दीपक खतिवडासहित १२ सदस्यले महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तगीसहित पाँच एजेन्डा थपको माग राखेका थिए ।

जसलाई अध्यक्षले एजेन्डामा समावेश गरेनन् । त्यसैको प्रतिक्रियास्वरुप शाहीसहित २१ सदस्यीय कार्यसमितिका ११ जनाले बैठक बहिष्कार गरे । तर अध्यक्ष नेम्वाङले ११ जना बाहिरिएपछि जबरजस्ती बैठकमा आवश्यक बहुमत सदस्यको ‘कोरम’ पुगेको भन्दै आफूखुसी निर्णयहरू गरे । जसमा सहायक महासचिवलगायतका महत्त्वपूर्ण नियुक्तिहरू पनि थिए । नेम्वाङले आफूसँग बहुमत भएको दाबी गरिरहँदा उनले दाबी गरेका सदस्यले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै नेम्वाङलाई आरोप लगाइरहेका थिए । उक्त बैठकमा सहभागिता नजनाए पनि माइन्युटमा हस्ताक्षर गर्नमात्र केही समयका लागि विष्ट एन्फा मुख्यालय पुगेका थिए । शाहीको नाम काटेर सोमबार फिफा कंग्रेसमा उनै विष्टलाई लगिएको छ ।

शाहीलाई उक्त बैठकले सहायक महासचिवलगायतका विभिन्न रिक्त पदमा नियुक्ति गरिएको जानकारी थिएन । शाहीले त्यसको विरोध गरिरहे । एउटा विदेश भ्रमणका लागि नैतिकतासँग सम्झौता नगरेका कारण सोमबार अपमान बेहोर्नुपरेको शाहीको बुझाइ छ । उनले फेसबुकमा त्यही लेखेका छन् । नेपाली फुटबल राजनीतिलाई नजिकबाट नियालिरहेकाहरूले उनको स्टाटसमा कमेन्ट गर्ने क्रममा पनि तिनै कुराहरू उल्लेख गरेका छन् ।

गत असारमा भएको एन्फा निर्वाचनमा नेम्वाङको नेतृत्वमा सुशासन, आर्थिक पारदर्शिता, सामूहिक नेतृत्वलगायतका नारा घन्काएर शाहीहरू तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलविरुद्ध निर्वाचनमा प्रस्तुत भएका थिए । तर, चुनाव सकिएको दुई दिनपछि नै ‘सामूहिक नेतृत्व’को नारा एन्फाको २१ सदस्यीय कार्यसमितिबाट नेम्वाङसहित तीन/चार जनामा मात्र सीमित भयो । त्यसको पछिल्लो सिकार शाही बन्न पुगे ।

यही कारण हो, शाहीको स्टाटसमा त्यो पीडा झल्किएको थियो । सही नाराका लागि गलत पात्रलाई नेतृत्व सुम्पिएकोमा पश्चाताप थियो । अनि नेपाली फुटबललाई सही बाटोमा फर्काउन गरेको ‘त्यो गल्ती’ सुधार्ने संकल्प पनि थियो ।

सुन्नेबित्तिकै प्रत्येक भलादमी नागरिकले ‘छ्या’ भन्ने यस्तो नैतिकहीन काम गरेर नेपाली फुटबल उत्थानको ठूला कुरा गर्न चाहिँ पटक्कै सुहाउँदैन है ।

नेम्वाङहरू निर्वाचित भएको धेरै भएको छैन । चार वर्षे कार्यकालको भर्खर आठ महिना बितेको छ । ४० महिना बाँकी नै छ । सुशासन, पारदर्शिता, सामूहिक नेतृत्वलगायतका नारा सार्थक बनाउन समयको कमी छैन । अझै पनि सही बाटो लिएमा गन्तव्य सुनिश्चित छ । तर, यही बाटोबाट चाहिँ सम्भव छैन ।

नेपाली फुटबलको मुहार परिवर्तन गर्ने र नायकका रूपमा आफ्नो नाम इतिहासमा लेखाउने हो भने नेम्वाङहरूले बाटो फेर्नुपर्छ । आफ्ना स्वार्थको डम्फुमा ताल नमिलाउने बित्तिकै उपाध्यक्ष जस्तो पदको गरिमा समेत नामेट पार्ने प्रयास कम्तीमा नेतृत्वले गर्न सुहाउँदैन । नेपालमा राजनीतिको मुहार सधैं विद्रुप रहने गरेको छ । यसर्थ अध्यक्षबाट यो हदको निर्णय अपेक्षा होला पनि । तर, उपाध्यक्षको मानमर्दन गरेर आफ्नो नाम हाल्दा कम्तीमा विष्टले चाहिँ ‘त्यस्तो विदेश भ्रमण गर्दिनँ’ भन्ने नैतिकता देखाउन सक्नुपर्थ्यो । नेतृत्वलाई अनैतिक बन्नबाट रोक्ने प्रयास गर्नुपर्थ्यो । सुन्नेबित्तिकै प्रत्येक भलादमी नागरिकले ‘छ्या’ भन्ने यस्तो नैतिकहीन काम गरेर नेपाली फुटबल उत्थानको ठूला कुरा गर्न चाहिँ पटक्कै सुहाउँदैन है ।