महिला साफ यु–२० च्याम्पियनसिप

नेपालले आज बंगलादेशको सामना गर्ने

काठमाडौं । महिला साफ यु–२० च्याम्पियनसिपअन्तर्गत आज आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशको सामना गर्दा नेपाली  महिला टोली सुखद सुरुआतको लक्ष्यमा हुनेछ । 
नेपाली टालीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ टोलीले सुखद नतिजा ल्याउनेमा आशाबादी देखिन्छन ।

खेल ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल रंगशालामा हुनेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
नेपालका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न टोली तयार रहेकोे बताएका हुन् ।

‘प्रतियोगिताका लागि हामीले सम्पूर्ण तयारी पूरा गरेका छौं । सहभागी सबै राष्ट्र समान स्तरका छन् । पक्कै आयोजक बंगलादेशले घरेलु मैदानको फाइदा उठाउने छ । तर, मलाई विश्वास छ, टोलीले राम्रो प्रर्दशन गर्नेछ । टोली प्रतियोगिताका लागि तयार छ । हामी सुखद सुरुआतको लक्ष्यमा छौं’, प्रशिक्षक गुरुङले भने ।

कप्तान प्रिती राई पनि विपक्षी टोली बलियो रहेकाले उत्कृष्ट खेल्दै राम्रो नतिजा निकाल्न प्रयास गर्ने बताउँछिन् ।

‘टोलीको तयारी राम्रो छ । घरेलु टोली भएकाले बंगलादेशलाई केही फाइदा पुग्नेछ । भारतको टोली राम्रो छ । भर्खरै फिफा यु–१७ विश्वकप खेलेको हुँदा उनीहरुसँग आत्मविश्वास पनि छ । भुटानले पछिल्ला वर्षहरुमा निकै प्रगती गरिरहेको छ । त्यसैले हामी आफ्नो शतप्रतिश दिएर खेल्दै राम्रो नतिजा निकाल्ने प्रयासमा हुने छौं,’ प्रितीले भनिन् ।

प्रतियोगिताका लागि बुधबार २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बंगलादेश प्रस्थान गरेको थियो ।

माघ २६ गते सम्म चल्ने प्रतियोगितामा आयोजक बंगलादेश, भारत, नेपाल र भुटानको सहभागिता छ । राउन्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेल आइतबार भुटानसँग खेल्दा त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा भारतको सामना गर्नेछ ।