काठमाडौं । शेर मल्ल गत मंसिरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा संयुक्त रुपमा सर्वाधिक विकेटकर्ता हुन् । यस प्रदर्शनको आधारमा शेरले पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाउन सफल भए ।
पहिलो पटक टोलीमा स्थान बनाएका शेरले आइतबार इङ्ल्याण्डसँगको विश्वकपको पहिलो खेलमा खेल्ने मौका समेत पाए । केही महंगो साबित भएका शेरले अन्तर्राष्ट्रिय करियरको पहिलो बलमा नै विकेट लिएर महत्वपुर्ण सफलता दिलाएका थिए ।
कप्तान रोहितकुमार पौडेलले दोस्रो ओभरमा नै डेब्यु खेल खेलिरहेका शेरलाई बलिङमा ल्याएका थिए । नेपालका लागि ५३औं खेलाडीको रुपमा ट्वान्टी २० आईमा डेब्यु गरेका शेरले अन्तर्राष्ट्रिय करियरको पहिलो बलमा नै विकेट लिए । इङ्ल्याण्डका ओपनर फिल साल्टलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउन सफल भए ।

साल्टको विकेट शेरको करियरमा महत्वपुर्ण रह्यो । नेपालबाट यस्तो सफलता हात पार्ने शेर दोस्रो खेलाडी हुन् । यस अघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको ट्वान्टी २० विश्वकपमा नेपालका तत्कालिन कप्तान पारस खड्काले हङकङसँग खेलमा यो सफलता हात पारेका थिए । संयोग के रह्यो भने शेरलाई ट्वान्टी २० आई अन्तराष्ट्रियको क्याप उनै पारसबाट मिलेको थियो ।
पारसले करिब १२ बर्ष अघि प्राप्त गरेको सो सफलता उनैको हातबाट डेब्यु क्याप लिएका शेरले दोहोर्याए । डेब्यु खेलमा शेरले ३ ओभर बलिङ गर्दै ३५ रन खर्चिएका थिए ।

इङ्ल्याण्डसँगको उक्त खेल नेपालले ४ रनको अन्तरले गुमाएको थियो । भारतमा जारी ट्वान्टी २० विश्वकपमा दोस्रो खेलमा आगामी बिहीबार इटलीको सामना गर्दैछ ।
