काठमाडौं । आगामी महिना हुने द हङकङ क्रिकेट सिक्सेसको १९औं संस्करणमा नेपाल कठिन समूहमा परेको छ ।
कार्तिक १६ देखि १८ सम्म हुने प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै इङ्ल्यान्ड र अस्ट्रेलिया छन् ।
प्रतियोगितामा १२ राष्ट्रको सहभागीता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ, समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’मा श्रीलंका, बंगलादेश र ओमान छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् ।
आयोजकले बुधबार खेल तालिका पनि सार्वजनिक गरेको छ । नेपालले कार्तिक १६ गते इङ्ल्यान्ड र कार्तिक १७ गते अस्ट्रेलियाको सामना गर्नेछ ।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।
के हो क्रिकेट सिक्सेस प्रतियोगिता ?
यो पाँच ओभरको प्रतियोगिता हो । यसमा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउने छन् ।
प्रतियोगिताको फाइनलमा भने आठ बलको एक ओभर हुनेछ । एक टोलीमा ६ खेलाडी राख्न पाउने व्यवस्था छ । यदी पाँच खेलाडी आउट भएमा अन्तिम ब्याटरले रन राख्न पाउनेछ ।
ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनेछ तर आवश्यकता परे पुनः ब्याटिङका लागि आउन सक्छ ।
यसैगरी प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ ।