काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले ओलम्पियन दीपक बिष्टलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
क्लबले सामाजिक सञ्जालमार्फत दीपकलाई ब्रान्ड एम्बासड बनाइएको जानकारी दिए । दीपक र टिम मालिक स्वत्रन्तप्रताप शाहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
तेक्वान्डोका पूर्व खेलाडी दीपकले दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण तथा एसियाली खेलकुदमा दुई कांस्य पदक जितेका छन् ।
एम्पायर स्पोर्टस प्रालिको स्वामित्वमा रहेको सुदूरपश्चिममा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीका रूपमा छन् । यसैगरी टोलीले जगत टमाटालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा सुदूरपश्चिमसहित काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् ।