काठमाडौं । भारतले एसिसी महिला ट्वान्टी-२० एसिया कपमा युएईविरुद्ध ७८ रनको फराकिलो जित निकालेकाे छ । लगातार दोस्रो जितसँगै समूह ‘ए’ को भारतले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित युएईले अंकविहिन छ ।
पहिलो खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दा युएईले नेपालसँगको खेल ६ विकेटले गुमाएको थियो ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भारतले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।
युएईका लागि कविशा इगोडेजले अविजित ४०, कप्तान इशा ओजाले ३८ र खुशी शर्माले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउ सकेनन् ।
भारतका लागि दिप्ती शर्माले दुई तथा रेनुका सिंह, तनुजा कन्वार पूजा वस्त्राकर र राधा यादवले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०१ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि कप्तान हरमनप्रित कौरले ४७ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरिन् । यसैगरी ऋचा घोषले २९ बलमा १२ चौका र एक छक्काको मद्दतले अविजित ६४, सफाली वर्माले ३७, जामिमाह रोड्रिगेजले १४ र स्मृति मन्धनाले १३ रन बनाए ।
युएईका लागि कविशा इगोडेजले दुई तथा समिरा धरणिधर्का र हिना होट्चन्दनीले समान एक विकेट लिए ।