काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपमा नेपालले ऐतिहासिक जित निकालेको छ । रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार नेपालले युएईलाई ६ विकेटले पराजित गर्यो ।
नेपालले एसिया कपमा पहिलो जित निकालेको हो । यसअघि दुई पटकको सहभागितामा आठ खेल खेलेको नेपाल जितविहिन बन्दै घर फर्किएको थियो ।
नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो । यसैगरी सन् २०१६ को पछिल्लो उपस्थितिमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्डसँग हार ब्यहोरेको थियो ।
युएईले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि सम्झना खड्काले ४५ बलमा चौकाको मद्दतले अविजित ७२ रनको योगदान गरिन् । यसैगरी रुबिना क्षेत्रीले १० रन बनाउँदा पूजा महतो सात रनमा अविजित रहिन् ।
युएईका लागि कविशा इगोडेजले तीन तथा लावन्या केनीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्यो । युएईका लागि खुसी शर्माले ३६, कविशा इगोडेज २२, समिरा धरणीधर्काले १३ र कप्तान इशा ओजाले १० रन बनाए ।
नेपालका लागि कप्तान इन्दु बर्माले तीन तथा कीर्तिका मरासिनी र सबनम राईले समान एक विकेट लिए । अब नेपालले आइतबार पाकिस्तानको सामना गर्नेछ ।