काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपको पहिलो खेलमा युएईले नेपालसामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्यो ।
युएईका लागि खुसी शर्माले ३६, कविशा इगोडेज २२, समिरा धरणीधर्काले १३ र कप्तान इशा ओजाले १० रन बनाए ।
नेपालका लागि कप्तान इन्दु बर्माले तीन तथा कविता जोशी, कीर्तिका मरासिनी र सबनम राईले समान एक विकेट लिए ।
युएईविरुद्ध मैदान उत्रिँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर हुनेछ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन ।
नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो । यसैगरी सन् २०१६ को पछिल्लो उपस्थितिमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्डसँग हार ब्यहोरेको थियो ।
हालसम्म नेपाल र युएईबीच चार खेल भएको छ । जसमा नेपालले दुई र युएईले एक जित निकालेका छन् । एक खेल भने नतिजाविहिन बनेको छ ।