काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपको नवौं संस्करण शुक्रबार (आज) देखि श्रीलंकाको डम्बुलामा सुरु हुँदैछ । साउन १३ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल नेपाली समय अनुसार दिसँसो २ः१५ बजेदेखि रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने छ ।
युएईविरुद्ध मैदान उत्रिँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर हुनेछ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन ।
नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो । यसैगरी सन् २०१६ को पछिल्लो उपस्थितिमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्डसँग हार ब्यहोरेको थियो ।
एसिया कपका लागि नेपाली टोली करिब दुई साताअघि नै श्रीलंका पुगेको थियो । त्यहाँ नेपालले श्रीलंका क्रिकेट बोर्डको महिला विकाश टोलीसँग तीन वटा अभ्यास खेल पनि खेलेको थियो । नेपालबाट यस पटक उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ ।
हालसम्म नेपाल र युएईबीच चार खेल भएको छ । जसमा नेपालले दुई र युएईले एक जित निकालेका छन् । एक खेल भने नतिजाविहिन बनेको छ ।