काठमाडौं । एसिसी महिला एसिया कप खेल्न नेपाली महिला क्रिकेट टिम श्रीलंका पुगेको छ । प्रतियोगिताको तयारी स्वरुप नेपाली टिम केही साता अघि नै श्रीलंका पुगेको हो ।
नेपालले श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीविरुद्ध तीन खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिका अनुसार खेल सरी भिलेजमा जुलाई ९, १० र १६ खेल खेल्नेछ ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
नेपाल टेष्ट राष्ट्र भारत र पाकिस्तानलाई बलियो चुनौती दिने योजनामा रहेको कप्तान इन्दु बर्माले बताएकी छिन् । ‘भारत र पाकिस्तान बलिया टोली हुन् । तर, हामी राम्रो दबाब बनाउनेछौं । युएईसँग भने जित्नकै लागि खेल्नेछौं ।’
नेपालले जुलाई १९ मा युएईको खेलमार्फत प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
प्रशिक्षक र व्यवस्थापनलाई अभद्र व्यवहार गरेको भन्दै क्यानले टोलीमा रहेकी अप्सरी बेगमलाई निलम्बन गरेको थियो । उनलाई थप अनुशासनपछि कारबाही गरिने क्यानले जनाएको छ । निलम्बनपछि उनीलाई टिमबाट हटाइएको छ ।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पुजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी, राजमति ऐरी