काठमाडौं । भारतका अलराउन्डर रविन्द्र जडेजाले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । भारतले ट्वान्टी-२० विश्वकप जितेपछि रविन्द्रले अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णय गरे ।
रविन्द्र पछिल्लो २४ घण्टामा संन्यास लिने तेस्रो भारतीय खेलाडी हुन् । यसअघि विराट कोहली र रोहित शर्माले ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका थिए ।
‘म ट्वान्टी-२० अन्तर्राष्ट्रिय करिअरलाई बिदाइ गर्दछु। मैले मेरो देशको लागि सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र अन्य ढाँचामा पनि जारी राख्नेछु,’ रविन्द्रले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेका छन्,‘विश्वकप जित्ने मेरो सपना साकार भएको छ, यो मेरो अन्तर्राष्ट्रिय करिअरको सबैभन्दा ठूलो उपलब्धि हो । यहाँसम्मको मेरो यात्रामा समर्थनको लागि धन्यवाद।’
रविन्द्रले सन् २००९ मा श्रीलंकाविरुद्धको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । उनले ७४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ५१५ रन बनाउनुका साथै ५४ विकेट पनि लिएका छन् ।