काठमाडौं । नामिबियालाई ४१ रनले हराउँदै इङ्ल्यान्डले आइसिसी ट्वान्टी २० विश्वकपको सुपर ८ सम्भावना कायम राखेको छ । नर्थ साउन्डमा वर्षा भएपछि खेल १० ओभरमा खेलाइएको थियो ।
शनिबार राति टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै एक सय २३ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा नामिबियाले तीन विकेट गुमाउँदा मात्र ८४ रन बनाउन सक्यो ।
विश्वकपको ३४औं खेलमा नामिबियाको लागि माइकल भान लिन्गेनले सर्वाधिक ३३ रन, डेविड विसले २७ र निकोलास डेविनले १८ रन बनाए ।
यसअघि ब्याटिङ गरेको इङ्ल्यान्डको लागि ह्यारी ब्रुकले २० बलमा आक्रामक ब्याटिङ गर्दै चार चौका र दुई छक्कासहित सर्वाधिक ४७ रन बनाए । जोनी बाइस्टोवले ३१ रन बनाएका हुन् । कप्तान जस बट्लर चार बल खेलेर खाता नखोली आउट भएका थिए ।
यस जितले इङ्ल्यान्डको समूह ‘बी’ बाट सुपर ८ सम्भावना यथावत रहेको छ । चार खेलबाट पाँच अंक बनाएको छ । तीन खेलबाट ६ अंक जोडेको अस्ट्रेलिया अन्तिम आठमा स्थान बनाइसकेको छ ।
स्कटल्यान्डको पनि पाँच अंक छ । अहिले अस्ट्रेलिया र स्कटल्यान्डबीचको खेल भइरहेको छ । यो खेल अस्ट्रेलियाले जिते इङ्ल्यान्ड अघिल्लो चरणमा स्थान बनाउनेछ ।
समूहमा नामिबियाको दुई अंक छ । ओमान चार खेलमा चारै हार बेहोर्न पुग्यो ।
राति नै भएको खेलमा भारत र क्यानाडाले अंक बाढेका छन् । वर्षाले खेल हुन नसकेपछि दुबै टोलीले समान एक अंक पाएका हुन् । समूह ‘ए’ बाट भारत र अमेरिका सुपर ८ मा पुगिसकेका छन् । पाकिस्तान, क्यानाडा र आयरल्यान्ड बाहिरिएका छन् ।