काठमाडौं । बंगलादेशले आइसिसी ट्वान्टी-२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ ।
दोस्रो जितसँगै ३ खेलमा ४ अंक जोडेको बंगलादेशले समूह ‘डी’ बाट सुपर ८ को सम्भावनालाई बलियो बनाएको छ । पराजित नेदरल्यान्ड्स समान खेलबाट २ अंकका साथ तेस्रो स्थानमा छ ।
सेन्ट भिसेन्टस्थित अर्नोस भेल क्रिकेट मैदानमा बिहीबार बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलब्रेचले ३३, विक्रमजित सिंहले २६, कप्तान स्कट एड्वार्डसले २५, माइकल लेभिटले १८, आर्यन दत्तले अविनित १५ र म्याक्स ओ’ डोउडले १२ रन बनाए ।
बंगलादेशका लागि राशिद होसनेले ३, तस्किन अहमदले २ तथा मुस्तिाफिजुर रहमान, तान्जिन हसन साकिब र महमुदुल्लाहले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पार्यो ।
बंगलादेशका लागि साकिब अल हसनले ४६ बलमा ९ चौकाको मद्दतले अविजित ६४ रनको योगदान गरे । यसैगरी तान्जिद हसनले ३५, महमुदुल्लाहले २५ र जाकिर अलीले अविजित १४ रन बनाए ।
नेदरल्यान्ड्सका लागि आर्यन दत्त र पल भान मिक्रेनले समान २ तथा टिम प्रिन्गेलले १ विकेट लिए ।