काठमाडौं । अमेरिकालाई सात विकेटले हराउँदै भारत आइसिसी ट्वान्टी २० विश्वकपको सुपर – ८ मा प्रवेश गरेको छ । बुधबार राति टस हारेर ब्याटिङ गरेको अमेरिकाले आठ विकेट गुमाउँदै एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा भारतले १८.३ ओभरमा तीन विकेट गुमाउँदै जित हात पार्याे ।
लगातार तेस्रो जितपछि भारतले ६ अंक जोडेको छ । भारत समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्यो । समग्रमा तेस्रो टोली रह्यो । यसअघि अस्ट्रेलिया र दक्षिण अफ्रिका पनि अन्तिम आठमा स्थान बनाइसकेका छन् ।
समूह ‘ए’ मा भारतपछि अमेरिका ३ खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानाडाको समान दुई अंक छ । आयरल्यान्डले अंक खाता खोल्न सकेको छैन ।
विश्वकपको २५औं खेलमा भारतीय अनुभवी ब्याटरद्वय कप्तान रोहित शर्मा र विराट कोहली भने सस्तैमा समेटिए । रोहित ६ बलमा तीन रन बनाएर आउट भए । कोहली गोल्डेन डकआउट भएका हुन् । दुबैको विकेट सौरभ नेत्रभाल्करले लिएका थिए ।
जिवदान पाएका सुर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रन बनाएका हुन् । शिभम दुबेले ३१ र ऋषभ पन्तले १८ रनको योगदान गरेका हुन् ।
यसअघि न्युयोर्कमा आयोजक अमेरिकाका ओपनर सायन जहान्गिरलाई अर्शदीप सिंहले पहिलो बलमै आउट गर्दै दबाब बढाएका थिए । अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए । नितिश कुमारले २३ बलमा २७ रनको योगदान गरेका हुन् ।
भारतका अर्शदीपले ४ ओभरमा ९ रन खर्चिएर सर्वाधिक चार विकेट लिए । हार्दिक पांड्याको नाममा एक दुई विकेट रह्यो ।