काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालका ओपनर कुशेल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ४४ बलमा सात चाैका र एक छक्काकाे मद्दतले ५० रन पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो सातौं अर्धशतक हो ।
जारी खेलमा नेपालले १४ ओभरमा ७१ रन जोड्दा एक विकेट गुमाएको छ । अर्का ओपनर आशिफ सेख २४ बलमा ८ रन जोड्दै पेभिलियन फर्के । आशिफ १०औं ओभरमा उदय भगवानको बलमा नवनित धलिवालबाट क्याच आउट भए ।
तेस्रो नम्बरमा आएका कप्तान रोहितकुमार पौडेल आठ रनमा ब्याटिङ गरिरहेका छन् ।
क्यानडा र नेपालले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।
क्यानडाको एकदिवसीय टोली पहिलो पटक नेपाल आएर प्रतिस्पर्धा गर्दैछ । नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेले क्यानडाको टोलीमा छन् ।
क्यानडासँगको खेलका लागि सार्वजनिक मोन्टी देसाईको पहिलो रोजाईमा पर्दै रिजन ढकाल र सूर्य तामाङले राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका छन् ।