काठमाडौं । गण्डकी प्रदेशलाई ८८ रनले स्तब्ध बनाउँदै नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
जितसँगै सात खेलमा आठ जोडेको एपिएफ छैठौ स्थानमा छ । पाँचौं हार ब्यहोरेको गण्डकी समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ ।
मुलपानी क्रिकेट मैदानमा एपिएफले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी ३३.४ ओभरमा १ सय १९ रनमा समेटियो । गण्डकीका लागि ओपनर समिर कँडेलले ३३, इश्वर क्षेत्रीले २८, कप्तान विपिन खत्रीले अविजित १८, किरण पंगेनीले १६ र कमल परियारले १० रन बनाए ।
एपिएफका लागि अमरसिंह राउटेलाले सात ओभरमा एक मेडनसहित १७ रन खर्चिएर चार विकेट लिए । यसैगरी श्याम ढकाल (मौसम)ले तीन, भुवन कार्कीले दुई रमेश कुर्मीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रनको योगफल तयार पारेको थियो ।
एपिएफका लागि ओपनर लोकेश बमले ६७ बलमा ५ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रन बनाए । यसैगरीभुवन कार्कीले ४२, प्रदीप ऐरीले ३९ र पुरन विकले ३० रन जोडे ।
दोस्रो विकेटका लागि लोकेश र पुरनले ७० तथा सातौं विकेटका लागि भुवन र प्रदीपले ६९ रनको साझेदारी गरे । गण्डकीका लागि कमल परियारले तीन तथा विपिन खत्री, अमृत गुरुङ र सन्दिप पराजुलीले समान दुई विकेट लिए ।