काठमाडौं । आईसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बलिया प्रतिद्वन्दी पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउसो सवा २ बजे चेन्नईमा हुनेछ ।
सेमिफाइनलमा स्थान बनाउँन दक्षिण अफ्रिकालाई जित्नैपर्ने दवावमा पाकिस्तान छ । आजको हारले पाकिस्तानको सेमिफाइलन सम्भावना कमजोर बन्नेछ । यदि जितले भने सेमिफाइलन सम्भावना कायम रहनेछ । लगातार तीन खेलमा पराजित पाकिस्तान छैटौं स्थानमा छ ।
यता, दक्षिण अफ्रिका पाकिस्तानलाई हराउँदै सेमिफाइलन सम्भावना बलियो बनाउने लक्ष्यमा छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाले सानदार प्रदर्शन गरिरहेको छ । पाँच मध्ये चार खेल जित्दै दोस्रो स्थानमा छ ।
दुई टोलीबीच हालसम्म विश्वकपमा पाँच खेल भएको छ । जसमा पाकिस्तानले दुई तथा दक्षिण अफ्रिकाले तीन खेल जितेका छन् । सन् १९९९ पछि दुई टोलीबीच मात्र दुई पटक भेट भएको छ । दुबै खेल पाकिस्तानले जितेको छ ।
सन् २०१५ र सन् २०१९ मा दुबै टोलीबीच भेट भएको हो । एकदिवसीयमा दुई टोलीबीच हालसम्म ८२ खेल भएका छन् । ५१ खेल दक्षिण अफ्रिका र ३० खेल पाकिस्तानले जितेको छ । एक खेल अनिर्णित बनेको छ ।
कप्तान टेम्बा बावुमा आजको खेलमा खेल्न सक्छन् । घाइते भएपछि पछिल्लो खेल खेलका थिएनन् । जारी विश्वकपमा दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि कक सर्वाधिक रन बनाउने शीर्षस्थानमा छन् । आजको खेलमा पाकिस्तानका फखर जमान खेल्न सक्छन् । अब्दुल्लाह साफिकले सानदार प्रदर्शन गरेपछि जमान बेन्चमा रहँदै आएका छन् । उनले अर्का ओपनर इमाम उल हकको स्थान लिन सक्छन् ।