काठमाडौं । नेपाल नम्बर एक व्यावसायिक गल्फर निरज तामाङले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो दिन पनि अग्रता कायम राखेका छन् ।
३ स्ट्रोकको अग्रतासहित दिनको खेल सुरु गरेका साविक विजेता निरजले लगातार दोस्रो दिन ६ अन्डर ६४ को स्कोर गरे । दुई दिनको खेल समाप्तीमा निरज समग्रमा १२ अन्डर १२८ स्कोरका साथ शीर्ष स्थानमा कायम रहँदा एमेच्योर गल्फर राहुल विश्वकर्मा ७ अन्डर १३३ स्कोरका साथ दोस्रो स्थानमा छन् । राहुलले दोस्रो दिन ६ अन्डर खेलेका थिए ।
दोस्रो स्थानमा रहेर दिनको खेल सुरु गरेका व्यावसायिक खेलाडी टंकबहादुर कार्की र चौथो स्थानमा रहेर बिहीबार कोर्समा उत्रिएका शुक्रबहादुर राई समान ४ अन्डर १३६ स्कोरका साथ संयुक्त रुपमा तेस्रो स्थानमा छन् । बिहीबार शुक्रले ३ अन्डर तथा टंकले १ अन्डरको प्रदर्शन गरेका थिए ।
दोस्रो दिन ४ अन्डर ६६ स्कोर गरेका दीनेश प्रजापती समग्रमा ३ अन्डर १३७ स्कोरका साथ पाँचौं स्थानमा रहँदा १ अन्डर १३९ स्कोर गरेका रवि खड्का, भुवन नगरकोटी र दोस्रो स्थानमा रहेर दिनको खेल सुरु गरेका बलभद्र राई संयुक्त रुपमा छैटौं स्थानमा छन् । बिहीबार रविले १ अन्डर खेल्दा भुवनले इभनपार तथा बलभद्रले २ ओभर खेलेका थिए ।
यसैगरी दुई दिनको खेल समाप्तीमा एमेच्योर खेलाडीद्धय पदमहाङ लिम्बु र प्रकृत तामाङ पनि शीर्ष १० मा अटाउन सफल भए ।
दुई दिनमा ३६ होलको खेल सकिँदा १७ व्यावसायिक तथा ७ खेलाडीले तेस्रो तथा अन्तिम दिनको छनोट (कट)मा सफलता हासिल गरे । कट बनाउन सफल अन्य व्यावसायिक खेलाडीमा जयराम श्रेष्ठ, सुमन परियार, सुनील केसी, संजय लामा, सुमन राई, भुवनकुमार रोक्का, दीपक मजर, कृष्णमान राजवाहक, सुरेश तामाङ, सूर्यप्रसाद शर्मा र धनबहादुर थापा छन् ।
एमेच्योर खेलाडीबाट कटमा सफलता हासिल गर्ने खेलाडीमा राहुल, पदमहाङ र प्रकृतसँगै सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेल छन् ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत वर्षको दोस्रो प्रतियोगितामा कुल पुरस्कार राशी १० लाख ५० हजार रुपैयाँ राखिएको छ । जहाँ विजेताले १ लाख ७० हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा १ लाख २५ हजार रुपैयाँ पर्नेछ ।
यसैगरी तेस्रो स्थान हासिल गर्नेले १ लाख रुपैयाँ पाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)ले जनाएको छ । बिहीबार कटमा सफलता हासिल गर्ने सबै व्यावसायिक खेलाडी नगद पुरस्कारको भागिदार बन्नेछन् ।
