साफ महिला च्याम्पियनसिप

भारत सेमिफाइनलमै तगारो बन्दा...

काठमाडौं । महिला साफ च्याम्पियनसिपका सुरुआती तीन संस्करणमा नेपालले फाइनल यात्रा तय गरेको थियो । तर, तीनै पटक भारतसँग पराजित हुँदा उपाधि जित्नबाट नेपाल वञ्चित हुँदै आएको थियो ।

०७३ सालमा भारतको सिलगढीमा दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हुने तय थियो । त्यसअघिका तीनै संस्करणको फाइनल पुगेको नेपाली महिला फुटबल टोली चौथो संस्करणको सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।

भारतविरुद्धको हारको शृंखला तोड्ने लक्ष्य लिएर सिलगढी पुगेको नेपाली महिला टिम सेमिफाइनलमा ३–१ को नतिजा सुम्पिँदै फेरि एकपल्ट प्रतियोगिताबाट बाहिरियो ।

कारण उही भारतसँगको हार । यसअघिका संस्करणमा सेमिफाइनलमा नेपालको भेट भारतसँग भएको थिएन । तर, सिलगढीस्थित कञ्चनजंगा रंगशालामा समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको नेपाल समूह ‘बी’ को उपविजेता भारतसँग खेल्ने निश्चित थियो ।

भारतविरुद्धको हारको शृंखला तोड्ने लक्ष्य लिएर सिलगढी पुगेको नेपाली महिला टिम सेमिफाइनलमा ३–१ को नतिजा सुम्पिँदै फेरि एकपल्ट प्रतियोगिताबाट बाहिरियो ।

लगातार तीनपल्ट उपविजेता बनेको नेपाली टिम पहिलो पटक सेमिफाइनलबाटै बाहिरिनुपर्यो ।

करिब दुई महिनाको तयारी गरेर २० सदस्यीय टिम लिएर मुख्य प्रशिक्षक कुमार थापा सिलगढी पुगेका थिए ।

एएफसी ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक थापाले पहिलो पटक महिला राष्ट्रिय टिम हेर्ने जिम्मेवारी पाएका थिए । उनलाई नतिजामा सुधार ल्याउन र जित्नैपर्ने दबाब थियो ।

नेपाली टोलीमा नमिता दली, एन्जिला सुब्बा, अञ्जना राना मगर, गीता राना मगर, पुनम जर्घा मगर, हीराकुमारी भुजेल, अञ्जली वाइबा, मनमाया लिम्बु, कविता धिमाल, रेनुका नगरकोटी, सपना लामा, दीपा अधिकारी, अनिता बस्नेत, दीपा राई, मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, सरु लिम्बु र निर्मला बिक थिए । त्यसमा प्रशिक्षक थापाले अञ्जना, सरु, मञ्जली, कविता, निर्मला र शर्मिलालाई डेब्यु गराएका थिए ।

थापासहितको प्रशिक्षण टिमले सुरुमा ७७ खेलाडी छनोट गरेको थियो । एएफसी ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक थापाले पहिलो पटक महिला राष्ट्रिय टिम हेर्ने जिम्मेवारी पाएका थिए । उनलाई नतिजामा सुधार ल्याउन र जित्नैपर्ने दबाब थियो । तर, समूह ‘बी’ को उपविजेता बनेको भारतसँग सेमिफाइनलमै भेट हुँदा साफकै खराब यात्रामा परिणत भयो ।

‘त्यतिबेला पनि अहिलेजस्तै एन्फाको चुनाव सकिएको थियो । नरेन्द्र (श्रेष्ठ) दाइले नेतृत्वमा हुनुहुन्थ्यो । ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षकको खोजी हुँदा मैले जिम्मेवारी पाएको थिएँ,’ प्रशिक्षक थापाले भने, ‘यसअघिका प्रतियोगितामा पाएका नतिजा सुधार्ने दबाब थियो । तर, केही आफ्नो गल्ती र रेफ्रीको गलत निर्णयका कारण हार्न पुग्यौं । अफसाइड गोल र फाउललाई पनि रेफ्रीले मान्यता दिएको थियो । भारतबाट गोल खाए पनि कमब्याक गरेका थियौं । तर, जित्न सकेनौं ।’

वरीयताको १ सय १०औं स्थानको नेपाली टिमले भारत जानु अघि एन्फा कम्प्लेक्स मैदानमा वरीयताको ८२औं स्थानको मलेसियासँग दुई मैत्रीपूर्ण खेलमा जित निकालेको थियो ।

समूह चरणको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेपछि भारत समूह ‘बी’ उपविजेताका रूपमा सेमिफाइनल पुगेको थियो । यता, नेपालले शतप्रतिशत जितसहित भारतसँगको भेट पक्का गरेको थियो । तर, सेमिफाइनलमा बंगलादेश परेको भए नेपाललाई केही सहज हुने थापा स्मरण गर्छन् ।

समूह चरणको पहिलो खेलमा नेपालले भुटानमाथि ८–० को फराकिलो जित दर्ता निकाल्दा सावित्रा (साम्बा)ले ६ गोल गरेकी थिइन् । उनले गरेको ह्याट्रिक नेपालका लागि साफमै पहिलो थियो । त्यसमा शर्मिला थापा र कृष्णा खत्रीले एक–एक गोल थपेका थिए ।

‘भारतलाई सेमिफाइनलमा नै भेट्यौं । बंगलादेशसँग परेको भए केही सहज हुन्थ्यो कि भन्ने त्यतिबेला लागेको थियो । पहिलो पटक गोलकिपर एन्जिला (तुम्बापो सुब्बा) र सावित्रा (भण्डारी) सुरुआती ११ मै थिए,’ उनले भने ।

यसअघि समूह चरणको पहिलो खेलमा नेपालले भुटानमाथि ८–० को फराकिलो जित दर्ता निकाल्दा सावित्रा (साम्बा)ले ६ गोल गरेकी थिइन् । उनले गरेको ह्याट्रिक नेपालका लागि साफमै पहिलो थियो । त्यसमा शर्मिला थापा र कृष्णा खत्रीले एक–एक गोल थपेका थिए ।

दोस्रो खेलमा श्रीलंकालाई ९–० को नतिजामा हराउँदा सावित्राले ५, मञ्जली योञ्जन, सपना लामा, हीराकुमारी भुजेल र निर्मला बिकले एक–एक गोल गरेका थिए । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाकी रुसानी गुनार्वाडानेबाट आत्मघाती गोल पाएसँगै नेपाल एकपक्षीय नतिजासहित सेमिफाइनल पुग्यो ।

सेमिफाइनलमा सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलमा भारतले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपालमाथि अग्रता बनाएका थियो । त्यसको ५ मिनेटपछि पुनः दोस्रो गोल थप्दै अग्रता २–० ले लम्ब्याएको थियो ।

नेपालका लागि सावित्राले ७५औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । तर, त्यसको ८ मिनेटपछि भारतले अर्काे गोल गर्दै ३–१ को नतिजा आफ्नो पक्षमा पार्यो ।

फाइनलमा भारतले बंगलादेशलाई ३–१ को नतिजामा हराउँदै लगातार चौथो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । यस संस्करणमा नेपालकी सावित्राले १२ गोलसहित सर्वाधिक गोलकर्ताको उपाधि जितेकी थिइन् ।

२०६७ सालदेखि सुरु महिला साफबाट नै राष्ट्रिय टिममा डेब्यु गरेकी मिडफिल्डर रेनुका नगरकोटेले चौथो संस्करणमा कप्तानी जिम्मेवारी पाएकी थिइन् । १५ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी रेनुकालाई कप्तानको जिम्मेवारी पाउँदा केही दबाब महसुस गरेको अनुभूति भएको थियो ।

‘हाम्रो सबैभन्दा नराम्रो साफ थियो त्यो । यसअघि भारतसँग फाइनलमा हारेका थियौं भने यो पटक सेमिफाइनलमा नै हार्नुपर्यो । हामीले भारतसँगको खेलमा सधैं आक्रामक फुटबल खेलेनौं । रक्षात्मक शैलीमा खेलेका थियौं । राम्रो तयारी गरेका थियौं । पहिलाको गल्ती नदोहोर्याउने कोसिस गरेका थियौं । राम्रो खेलेर नै हार्नुपरेको थियो । त्यसैले साह्रै नमज्जा लाग्दोरहेछ,’ कप्तान रेनुकाले त्यो क्षण स्मरण गरिन् ।

‘मभन्दा सिनियर दिदीहरू टिममा हुनुहुन्थ्यो, त्यसैले कप्तानी जिम्मेवारी मैले पाउँछु भनेर सोचेको पनि थिइनँ । सरलाई सोध्दा सेटमा खेल्नेलाई कप्तानी दिने भन्नुभयो । जुनियर भएर खेलिरहेको एक्कासि कप्तान हुँदा दबाबको महसुस गरेको थिएँ,’ रेनुकाले भनिन्, ‘टिमलाई सम्हाल्न गाह्रो भएको थियो । त्योभन्दा अगाडि कतै पनि कप्तान भएको थिइनँ । कप्तान भएपछि जिम्मेवारी बढ्दो रहेछ ।’

लगातार चौथो साफसम्म आइपुग्दा धेरै कुराको अनुभव बटुलिसकेकी रेनुकालाई सेमिफाइनलमा भारतसँगको हार अझै पनि नमीठो लाग्छ ।

‘हाम्रो सबैभन्दा नराम्रो साफ थियो त्यो । यसअघि भारतसँग फाइनलमा हारेका थियौं भने यो पटक सेमिफाइनलमा नै हार्नुपर्यो । हामीले भारतसँगको खेलमा सधैं आक्रामक फुटबल खेलेनौं । रक्षात्मक शैलीमा खेलेका थियौं । राम्रो तयारी गरेका थियौं । पहिलाको गल्ती नदोहोर्याउने कोसिस गरेका थियौं । राम्रो खेलेर नै हार्नुपरेको थियो । त्यसैले साह्रै नमज्जा लाग्दोरहेछ,’ कप्तान रेनुकाले त्यो क्षण स्मरण गरिन् ।

तर, राम्रो तयारी र बढीभन्दा बढी प्रतियोगिता खेलेर भारतसँग प्रतिस्पर्धा गर्न गएमा जित्न सकिने उनको विश्वास छ ।

‘भारतले धेरै प्रतियोगिता खेलिरहेको हुन्छ । हाम्रो वर्षमा एकपटक लिग हुन्छ । यसपालि त लिग पनि पूरा भएको छैन । नेपालमा धेरै प्रतियोगिता हुँदैनन् । खेलाडीले जति खेल्न पाउँछन् उति नै राम्रो हुँदै जाने हो,’ उनले सुझाइन्, ‘वर्षमा एउटा मात्रै प्रतियोगिता खेलेर भारतलाई जित्न सकिँदैन ।’

यसपालि साफ च्याम्पियनसिपको छैटौं संस्करण काठमाडौंमा भदौ २१ देखि हुँदै छ । त्यसका लागि टिम प्रशिक्षणमा छ । लगातार पाँचौं साफसम्म राष्ट्रको प्रतिनिधित्व गर्दै आएकी रेनुका यसपल्ट चोटका कारण टिममा छैनन् । तर, घरेलु मैदानमा हुने प्रतियोगितामा कमीकमजोरी केलाएर खेलेमा टिमले उपाधि जित्न सक्नेमा उनी आशावादी छन् ।

‘टे«निङ समय नै कम छ । प्रशिक्षक राम्रो हुनुहुन्छ, त्यसैले राम्रो नतिजा आउनेमा आशावादी छु । खेलाडी सबै युवा र क्षमता भएकाहरू छन् । भारत प्रतिद्वन्द्वी भनेपछि एक किसिमको मनमा डर हुन्छ नै तर हामी हार्छौं भनेर हैन जित्छौं भनेर नडराइकन खेल्यौं भने जित्न गाह्रो हैन । कमीकमजोरी केलाएर त्यसमा सुधार गरेर खेल्यौं भने जित्न सक्छौं,’ रेनुकाले भनिन् ।

यसपालि साफमा प्रशिक्षकको जिम्मेवारी पुनः एकपटक कुमार थापालाई नै दिइएको छ । उक्त जिम्मेवारी पाएका थापाले एन्फाको विश्वास टुट्न नदिने बताउँदै खेलाडी र आफ्ना लागि प्रमाणित गर्ने अवसर भएको बुझेका छन् ।

‘पहिलाको नतिजा त्यस्तो निस्किँदा फेरि पनि प्रशिक्षकको जिम्मेवारी पाउनु भनेको भाग्यमानी वा क्षमतावान्ले मात्र पाउँछ जस्तो लाग्छ । पहिलाको नतिजा त्यस्तो आएपछि मैले कहिल्यै पनि महिला टिमको प्रशिक्षण जिम्मेवारी पाउँदिनँ भन्ने सोचेको थिएँ । तर, पाएँ,’ थापाले भने, ‘एन्फाले विश्वास गरेर मलाई जिम्मेवारी दियो । खेलाडी र मेरो लागि एउटा अवसर हो । खेलाडी र मैले घरेलु समर्थकसामु आफूलाई चिनाउने र साबित गर्ने मौका छ । हामी यसमा आशावादी छौं ।’